असार २६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको टिप्पणी गरे ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले ओलीको भनाईलाई अहंकारयुक्त अभिव्यक्ति भएको बताएका छन् ।
सम्बन्धित समाचार :
प्रधानमन्त्री ओलीको राणनीति : गोविन्द केसीसँग वार्ता गर्ने, माग पूरा नगर्ने
प्रतिपक्षीले कमजोर त्यान्द्रो समाएको छ : प्रधानमन्त्री ओली
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतले कांग्रेसको एजेण्डालाई अहिले त्यान्द्रोको संज्ञा दिए पनि यसको नतिजा पछि देखिने भन्दै प्रधानमन्त्रीलाई चेतावनी दिए ।
सरकारले गरेको नराम्रो कामको विरोध गर्दा अनावश्यक विशेषण दिएको बताउँदै महतले प्रधानमन्त्री ओली निरङ्कुशता र सर्वसत्तावादको मानसिकताले ग्रस्त भएको बताए ।
डा. गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्ने गरी कांग्रेसले ल्याएको अध्यादेश अहिलेको सरकारले उल्ट्याएको भन्दै महतले नेकपाका नेता–कार्यकर्ताको हित हुने गरी ल्याइने विधेकय स्विकार गर्न नसकिने बताए ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्वाचन सम्पन्न गराईदिएर प्रधानमन्त्री हुन पाएका ओलीले अख्तियार गरेको बाटो संविधान र कानुनी मूल्यमान्यता विपरित भएको महतको जिकिर छ ।
“विकास निर्माण गर्न कसले रोकेको छ । तर कानुनसम्मत बाटोमा हिँड्नुस् भन्दा कुन गल्ती गर्यौँ ।” महतले भने ।
सरकारले जनसरोकारका विषय वेवास्ता गरेको आरोप लगाउँदै महतले उखान टुक्कामा केन्द्रित भएको आरोप लगाए ।
निषेधित क्षेत्र तोकेर सरकारले जनताको अधिकार कुण्ठित गर्न खोजेको महतको दाबी छ ।