ललितपुर, २६ असार । सदर चिडियाखाना केही वर्षमा सूर्यविनायकमा विस्तार गर्नका लागि तयारी थालिएको छ ।
अहिले जावलाखेलको सानो क्षेत्रमा रहेको चिडियाखाना यहाँसँगै सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले जनाएको छ । सूर्यविनायक जङ्गलमा प्राणी उद्यान केन्द्रका रुपमा राखिने सदर चिडियाखानाका प्रमुख चीरञ्जीवी पोखरेलले बताएका छन।
जावलाखेलमा भन्दा सूर्यविनायकको जग्गा क्षेत्रफलका हिसाबले ठूलो छ । यहाँ चिडियाखाना ६ हेक्टर रहेको छ भने सूर्यविनायकमा १४।२९ हेक्टरमा जनावरलाई राखिनेछ । उनि भन्छन, “यहाँ जनावरलाई विभिन्न खोरभित्र राखिने गरिएकामा सूर्यविनायकमा खुल्ला हुनेछ ।”
क्षेत्रफल ठूलो हुँदा ठूला जनावरलाई सहज हुने उनि बताउन्छन । यहाँ सानो क्षेत्रफलमा व्यवस्थापन गरेर जनावरलाई राखिएको छ । उनको भनाई अनुसार, “हामीले प्राणी उद्यान केन्द्र अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेका छौँ ।” सूर्यविनायकमा अहिले विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माणको काम भएको छ ।
सूर्यविनायकमा चिडियाखाना विस्तारको काममा प्राविधिक रुपमा प्रकृति संरक्षण कोषले गरिरहेको छ । कोषले झण्डै २२ वर्षपहिले देखि सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको छ । नेपाल सरकार र कोषका बीचमा ३० वर्षसम्म कोषले व्यवस्थापन गर्ने सम्झौता भएको थियो ।
चिडियाखानाको स्थापना १९८९ सालमा भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । १२४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन् । रासस