असार २७, काठमाण्डौ । जुम्लामा पुगेर १२ दिनदेखि अनशनरत गोविन्द केसीको स्वास्थ्य अवस्था जटील बन्दै गएपछि सरकारले उनको उपचार जसरी भए पनि गर्ने तयारी गरेको छ ।
आज जुम्लामा हेलिकप्टर पठाएर केसीलाई काठमाण्डौ ल्याउने तयारी सरकारले गरेको थियो । तर नेपाल चिकित्सक संघ (एनएमए)ले आफ्ना प्रतिनिधि नपठाएपछि केसीलाई लिन जान लागेको हेलिकप्टर रोकिएको थियो ।
सरकारको क्याविनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह तथा एनएमएका प्रतिनिधिसहित हेलिकोप्टर जुम्ला जाने तयारी थियो ।
डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई सरकारले काठमाडौ ल्याउने व्यवस्था गरेको थियो । यसको लागि सरकारले नेपाली सेनाको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखेको थियो ।
तर, डा. केसी काठमाडौ आउने नआउने टुङ्गो नभएपछि भने एमएमएको टिम सरकारी टोलीसित जुम्ला जान हच्किएको छ ।
आजको प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओलीले केसीको उपचार कसरी गर्ने भन्ने विषयमा अहिले छलफल गरिरहेका छन् ।
ओलीले सबै मन्त्रीहरुलाई बोलाएर केसीका बारेमा विशेष छलफल गरिरहेका छन् । भोलीसम्ममा जसरी भए पनि काठमाण्डौ ल्याएर केसीको उपचार गराउने विषयमा छलफल भइरहेको हो ।