असार २८, काठमाण्डौ । हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ ।
लगातारको वर्षापछि हनुमन्ते खोलामा आएको बाढीले सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।
त्यसैगरी भक्तपुरको जगाते, हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन मावि लगायतका बिभिन्न विद्यालयहरु समेत डुबानमा छन् । सिद्धिस्मृति, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको छ । विद्यालयहरू पनि डुबानमा परेको छ ।
भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् ।
दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे–निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ
बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् ।
रातीदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । भक्तपुरका यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।
बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहीबार बिहानैदेखि उद्धार गरिरहेको छ ।
हनुमन्ते खोलाले भक्तपुर हरेक वर्ष डुबानमा पर्दै आएको छ । तर समस्या समाधान गर्न कसैले चासो नदिएको गुनासो भक्तपुरबासीले गर्दै आएका छन् ।
तीन जनाको मृत्यु
भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।
६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।
उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए ।