Logo

बेलगाम क्रसर उद्योग, अनुगमन टोलीकै बेवास्ता



काठमाडौं ३१ असार ।
मुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीलाई यहाँका क्रसर व्यवसायीले अटेर गरेका छन् । अनुगमन आउने पूर्वसूचना पाएपछि उनीहरू उद्योगमै भेटिएनन् ।

वन क्षेत्रबाट पाँच यस मिटर क्रसर उद्योग सञ्चालन गर्नुपर्ने प्रवाधान भए पनि जंगलसँगै सञ्चालित गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङको माई मनकामना क्रसर उद्योग । तस्बिर : हरिराम उप्रेती

‘कागजपत्र तयार पारेर राख्नु भनेर सबै क्रसर सञ्चालकलाई पूर्वसूचना दिएका थियौं,’ टोलीमा सहभागी घरेलु तथा साना उद्योग विकास समिति प्रतिनिधि कमलप्रसाद महतोले भने, ‘दुई जना क्रसर सञ्चालक उद्योगमा भेटिएनन् टेलिफोन गर्दा आउन नभ्याउने बताए ।’

गोरखा नगरपालिका–१० छेवेटारस्थित गोरखकाली क्रसर उद्योगका सञ्चालक सुरेन्द्र कुँवरले अनुगमन टोलीको टेलिफोनसमेत ‘रिसिभ’ नगरेको स्रोतले जनायो । उद्योगमा भेटिएका सुपरभाइजर प्रभोद रानालाई आवश्यक कागजपत्र देखाउन आग्रह गर्दा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए ।

अनुगमन टोलीलाई कागजपत्र देखाउन आनाकानी गरेको भन्दै रानालाई प्रजिअ नारायणप्रसाद भट्टराईको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त उद्योगले क्रसर उद्योग सञ्चालनको न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ ।

भूकम्प आपतकालीन सहायता परियोजनाद्वारा सञ्चालित पालुङटार नगरपालिकाको लुइँटेल भन्ज्याङदेखि थालाजुङसम्म सडक स्तरोन्नतिका लागि दरौदी नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि लामा/अमर जेभीलाई अनुमति दिइएको थियो । उक्त जेभीले निर्माण सामग्री संंकलनका लागि कुँवरलाई जिम्मा दिएको थियो ।

आयोजना निर्माण स्थलबाट पाँच सय मिटरसम्म निर्माण सामग्री भण्डारण गर्न भनिए पनि कुँवरले करिब १० किलोमिटर टाढा छेवेटारमा भण्डारण गर्दै आएका छन् । सडक आयोजनाका लागि संकलित निर्माण सामग्री उनले बिक्री गर्दै आएको स्रोतको भनाइ छ । सम्झौताअनुसार संकलित ढुंगा–गिट्टी आयोजनाका लागि मात्र प्रयोग गर्नुपर्ने हुन्छ । उनले अहिले भण्डारण भइरहेको स्थलमै क्रसर उद्योग दीर्घकालीन रूपमै सञ्चालन गर्ने तयारी थालेका छन् । पाँच सय घनमिटरभन्दा बढी नदीजन्य वस्तु उत्खनन गर्न नपाइने सम्झौतामा उल्लेख भए पनि उक्त परिमाणभन्दा बढी निर्माण सामग्री क्रसरले झिकेको स्थानीयको आरोप छ । आफ्ना सुपरभाइजरलाई नियन्त्रणमा लिएपछि कुँवरले विभिन्न नेतामार्फत छुटाउन दबाब दिन थालेका छन् ।

पालुङटार नगरपालिका–१ को माई मनकामना क्रसर उद्योगका सञ्चालक किरण श्रेष्ठ पनि उद्योगमा भेटिएनन् । उद्योगमा भेटिएका कर्मचारीले अनुगमन समितिलाई आवश्यक कागजपत्र देखाउन सकेनन् । उक्त उद्योगका प्रतिनिधिलाई आइतबार १० बजे आवश्यक कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । ‘भोलिसम्म नआए उद्योगमा छापा मार्छौं,’ प्रजिअ भट्टराईले भने । उद्योग भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठको नाउँमा दर्ता भएको पाइएको छ ।

पालुङटार नगरपालिका–१ कै सिम्रन क्रसर उद्योगको पनि शनिबार अनुगमन गरियो । सञ्चालक भने उद्योगमै भेटिए । शनिबार अनुगमन भएका ३ वटै उद्योग मापदण्ड पूरा नगरी सञ्चालन भएको पाइएको छ । खोला किनार र राजमार्गबाट पाँच सय मिटर टाढा उद्योग सञ्चालन हुनुपर्ने प्रावधान छ । सिम्रन र माई मनकामना दुवैले मापदण्ड पूरा गरेका छैनन् । वन क्षेत्रबाट पाँच सय मिटर टाढा उद्योग सञ्चालन गर्ने प्रावधान भए पनि माई मनकामनाले वन क्षेत्रसँगै उद्योग सञ्चालन गरेको छ ।

कुनै पनि उद्योग नवीकरण नभएको पाइएको प्रजिअ भट्टराईले बताए । निर्माण सामग्री उठाउनुपूर्व प्रमाणित नै नगरी मनलाग्दी तवरले उठाउने गरेको अनुगमन समितिको ठम्याइ छ । सरकारले दिएको मापदण्ड पूरा नगर्नेलाई बन्द गराउने प्रजिअ भट्टराईले बताए । ‘मापदण्ड पूरा गर्न निश्चित समय दिन सकिन्छ, अप्ठ्यारो पार्ने उद्देश्य होइन,’ उनले भने ।

तीन ‘क्याटोगोरी’ मा क्रसर उद्योगको सूक्ष्म ढंगले अध्ययन भइरहेको उनले बताए । ‘अनुमति नलिई सञ्चालन भएको, अनुमति लिए पनि मापदण्ड पूरा नभएको र अनुमति पनि लिएको मापदण्ड पनि पूरा गरेको तीन क्याटोगोरी छुट्याउँछौं,’ उनले भने, ‘व्यवसाय गर्नेले गौरव हुने किसिमले गर्नुस् ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्