Logo

यस्तो लापरबाहीः स्वास्थ्य चौकीको शौचालयमा जन्मियो शिशु



काठमाडौं ३१ असार । २४ घण्टा प्रसूति सेवा प्रदान गर्ने भनिएको सुनवर्षी नगरपालिका–९ डाइनियाको स्वास्थ्य चौकीस्थित शौचालयमा एक महिलाले शनिबार शिशु जन्माएकी छन् ।

स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मी विदामा बस्दा महिलाले शौचालयमै बच्चा जन्माउनु पर्ने अवस्था आएको हो । प्रसव व्यथाले च्यापेपछि डाइनिया स्वास्थ्य चौकीमा २६ वर्षीया दोलतकुमारी साहलाई आफन्तले विहान ११ बजे प्रसूति गराउन लगेका थिए ।

नातामा फूपु पर्ने रोहितकुमारी साहले घर नजिकैको स्वास्थ्य चौकीमा पुर्याउँदा कोही स्वास्थ्यकर्मी थिएनन् । त्यहाँ पु¥याएको लगभग एक घण्टापछि शौचालय लगिएकी साहले त्यहीँ छोरी जन्माएकी हुन् ।

‘लामो समय स्वास्थ्यकर्मी पर्खिएर बस्यौं,’ रोहितकुमारीले भनिन्, ‘एक घण्टा बढी कुर्दा पनि कोही नआएपछि शौचालय गएकी दोलतकुमारीले त्यहीं बच्चा जन्माइन ।’

दोलतकुमारीका दाजु रञ्जीतले चौकीले बारम्बार यस्तै लापरवाही गरिरहेको बताए । ‘२४ घण्टा प्रसूति सेवा प्रदान गर्नुपर्ने ठाउँमा चरम लापरवाही छ । हामी त्यहाँ पुग्दा स्वास्थ्यकर्मी कोही पनि थिएनन्,’ उनले भने, ‘चौकीका सहयोगी मात्रै थिए । सहयोगीले प्रसूति गराउन सक्ने सम्भाव थिएन ।’

रञ्जीतले त्यहाँका स्वास्थ्यकर्मीले बारम्बार लापरवाही गरिरहेकाले प्रसूति गराउन ल्याइने महिलाको ज्यान पनि जोखिममा पर्ने गरेको बताए । उनले भने, ‘जब समस्या पर्छ । त्यही बेला स्वास्थ्य चौकीमा डाक्टर र नर्स नै हुँदैनन् ।’

यही असार २१ गते पनि त्यही स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएको अवस्थामा एक महिलाले बच्चा जन्माएकी थिइन् । स्वास्थ्यकर्मीको गैरजिम्मेवारीका कारण शौचालयमा बच्चा जन्मिएको भन्दै सुत्केरीका आफन्त आक्रोशित बनेका छन् ।

उनीहरुले केन्द्रमा तालाबन्दी पनि गरेका थिए । आगामी साउन २ गते सर्वपक्षीय बैठक बोलाएर यसबारे छलफल गर्ने सहमति भएपछि वडाअध्यक्ष कमलकिशोर सिंहको रोहवरमा ताला खोल्न आफन्त सहमत भएका थिए ।

वडाअध्यक्ष सिंहले प्रसूति गराउने विषयमा स्वास्थ्यकर्मीको लापरवाही देखिएका कारण छानविन गरेर कारवाही अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

केन्द्रले गत फागुन ३० गतेबाट २४ घण्टा प्रसूति सेवा दिन थालेको थियो । सुनवर्षी नगरपालिकाका स्वास्थ्य संयोजक हैदर अलीका अनुसार केन्द्रमा चार स्वास्थ्यकर्मीसहित १२ कर्मचारी कार्यरत छन् ।

उनका अनुसार शनिबार स्टाफ नर्स कञ्चनकुमारी सिंह र कार्यालय सहयोगी रमाकान्त साहको ड्युटी थियो । केन्द्रका इन्र्चाज सुरेन्द्र साह र नर्सिङ इन्चार्ज सुजिता साह भने विदामा थिए ।

उनीहरु दुवैजना एकै पटक विदामा बसेका बेला प्रसूति गराउन ल्याइएकी महिलाले शौचालयमै बच्चा जन्माउनुपर्ने अवस्था आएको अलीले बताए । सुजिताले शनिबार सार्वजनिक विदा भएको भन्दै ड्युटीको जिम्मा कञ्चनलाई लगाएकी थिइन ।

स्टाफ नर्स सिंहले आफ्नो ड्युटी रहे पनि चौकी छाडेर खाना खान गएका बेला शौचालयमा बच्चा जन्मिएको बताइन् । ड्युटीमा रहेकी स्टाफ नर्स स्वास्थ्य केन्द्र छाडेर बाहिर गएर लामो समय सम्म केन्द्रमा नआउँदा सुत्केरी व्यथाले च्यापेकी महिलाले शौचालयमै बच्चा जन्माउनु पर्ने अवस्था आएको आफन्तको गुनासो छ ।

नर्सिङ इन्चार्ज साहले यस विषयमा आफूलाई ढिलो जानकारी भएको बताउँदै भनिन्, ‘शनिबार सार्वजनिक विदा भएकाले ड्युटी जिम्मा लगाएर बसेको थिएँ ।’ आफू विदामा बस्दा लापरवाही भएको भन्दै उनी पन्छिन खोजिन् ।

नगरपालिकाले स्वास्थ्य केन्द्रमा सातजना स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था गरे पनि गर्भवती महिलाले भने शौचालयमा बच्चा जन्माउनुपर्ने अवस्था आएको स्थानीय राजनीतिकर्मी अमरेन्द्र झाको भनाइ छ ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्