असार ३१, काठमाण्डौ । प्रदेश नम्बर तीनका सासंद डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीका माग पूरा गर्न कुनै समस्या नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अधिकारीले केसीको कतिपय माग पूरा भइसकेको दाबीसमेत गरे ।
प्रस्तावित मनमोहन मेडिकल कलेजका संस्थापक सदस्यसमेत रहेका अधिकारीले केसीका कतिपय माग सरकारको नीति तथा कार्यक्रमले पनि पूरा गरिसकेको बताए ।
पूरा भइसकेको मागलाई पनि पुनः अघि सारेर केसीले अप्ठ्यारो स्थिती सृजना गरेको अधिकारीको आरोप छ ।
सम्बन्धित समाचार :
डा. केसीको अवस्था गम्भीर, पटक–पटक अर्धचेत, भेन्टीलेटर तयारी अवस्थामा
सरकार जनताको पक्षमा छ, कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
डा. केसीलाई जसरी पनि काठमाण्डौ ल्याउने सरकारको तयारी
अनशन बसेको भरमा सबै माग पूरा हुन नसक्ने भन्दै अधिकारीले भने, “यो देशलाई अहिले नै स्वर्ग बनाइयोस् भनेर अनशन बस्यो भने के गर्ने ? सम्भव हुने हो कि नहुने हो भन्ने नबुझिकन अनशन बसेर हुन्छ ?”
“१९ वटा मेडिकल कलेज खुलिन्जेल डा. केसी चुप लागेर बसे । नेपाली कांग्रेस समर्थक व्यवसायीहरुले १९ वटा कलेज खोलुन्जेल अनशन बसिएन । जब मनमोहन कलेजले सम्बन्धन पाउनुपर्ने अवस्था आयो, तब अनशन सुरु भयो ।” अधिकारीले भने ।
डा. केसीले काठमाण्डौ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई मान्यता दिन हुँदैन भनेर ढिपी गर्नु राजनीतिक पूर्वाग्रह भएको अधिकारीले दाबी गरे ।
डा. केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको अधिकारीको आरोप छ ।
“डा. गोविन्द केसी नेपाली कांग्रेसको कार्यकर्ता हो । किनभने गगन थापाको चुनावमा प्रचारका लागि भिडियो बनाएर हिँड्ने मान्छे कुन पार्टीको हुन्छ ? गगन थापाको चुनावमा प्रचार गर्ने मान्छे साझा व्यक्ति हुन सक्दैन ।” अधिकारीले भने ।
उनले माथेमा आयोगको प्रतिवेदन र डा.गोविन्द केसीको हठको कारण नेपाली विद्यार्थीहरु बिदेशमा पढ्न जान बाध्य भएको बताएका छन् ।
माथेमा आयोगले दिएका सुझाब अहिलेको अवस्थामा लागु हुन नसक्ने अधिकारीको भनाई छ ।