Logo

डाक्टर केसीसँग ओलीले वार्ता नगर्ने, स्वास्थ्य र शिक्षामन्त्री गर्ने पक्षमा



काठमाडौं, ३१ असार । जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओली वार्ता नगर्ने पक्षमा छन् । केसीले राखेका मागहरु सबै पूरा नहुने सरकारको अडान छ । यता डाक्टर केसीले आफ्नो स्वास्थ्यको चिन्ता नलिन सरकारलाई आग्रह गरेका छन्।

१६ दिनदेखि अनसनरत उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले आफूलाई राम्रो हेरचाह गरिरहेको बताउँदै आएका छन् । उनले भनेका छन्,‘मेरो स्वास्थ्यको चिन्ता नलिनुस्। मलाई उठाएर काठमाडौं लैजाने होइन, म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भइरहेको छ। उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु।’डाक्टर केसीको सम्बोधन अडियोमार्फत् शनिबार बानेश्वरबाट हजारौं समर्थकको माझ सुनाइएको थियो।

यता प्रधानमन्त्री ओलीले काठमाडौं ल्याएर केसीको उपचार गराउने चाहना राखेका छन् । सरकारका मन्त्रीहरुबीच नै अहिले केसीसँग वार्ता गर्ने कि नगर्ने भन्नेबारे मत विभेद रहेको छ ।

प्रधानमन्त्री ओली अहिले केसीसँग वार्ता कुनै हालतमा नगर्ने बरु उनको उपचार काठमाडौं ल्याएर गर्ने तयारीमा छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल भने जुम्लामा गएर पनि वार्ता गर्छु भन्ने पक्षमा छन् । मन्त्री पोखरेल केसीप्रति लचक छन् । तर प्रधानमन्त्री ओली कठोर छन् ।
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि केसीसँग वार्ता गर्ने पक्षमा छन् । स्रोतका अनुसार यादव जुम्लामा गएर भएपनि केसीसँग वार्ता गर्नुपर्छ र उनका मागहरु पूरा गराउनको लागि वार्ता समिति पनि गठन गर्नुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्