Logo

पौडेल–सिटौला पक्षको एउटै भेला, देउवालाई चुनौति



असार ३२, काठमाण्डौ । असार १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पक्षका नेताहरुलाई बोलाएर विशेष छलफल गरेका थिए । पार्टीलाई सुधारको बाटोमा लैजान आफू तयार रहेको भन्दै त्यस दिन देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतलाई आश्वस्त पारेका थिए ।

त्यस दिनको छलफलपछि कांग्रेसमा सुधारको संकेत देखिएको चर्चा गरिएको थियो । १९ गते देउवाको निम्तोमा १८ जना शीर्ष तहका नेताहरु एकै ठाउँमा भेला भएका थिए ।

त्यस दिन सौहाद्र तरिकाले भेटघाट सम्पन्न गर्ने रणनीति लिएका देउवाले आफैले बोलाएको बैठकमा विषय प्रवेशको मौका पौडेललाई दिएर माहौल झन खुशीयाली मात्रै होइन, पौडेलप्रति सम्मान पनि दर्शाएका थिए ।

सम्बन्धित समाचार : 

देउवा र पौडेलबीच ऐतिहासिक मिलन, यस्तो भयो सहमति

देउवा र पौडेलको एकाएक मन मिल्यो, भोलि विशेष भेट !

तर गुटगत राजनीतिकले जरा गाडेको कांग्रेसभित्र एक दिनको भेलाले समस्या समाधान गर्ने सम्भावना कम हुँदै गएको छ ।

एकजुट देखाउनका लागि गरिएको भेला सकिएको दुई हप्ता वित्न नपाउँदै दृश्य बदलिएको छ ।

रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएपछि पार्टीभित्र विवाद बढ्दै गएको स्पष्ट भएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको भनिए पनि पौडेल आफैंले भेला बोलाएका हुन् ।

भेलामा देउवा इतर समूहका सबै केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । भेलामा पौडेलसँगै नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी लगायत पनि हुनेछन् ।

नेताहरुका अनुसार पार्टी सभापति देउवाले साउन २ मा शीर्ष नेताहरुको बैठक बोलाएका छन् । यो बैठकमा महासमिति बैठकको मिति, विधान मस्यौदा समिति गठन र पार्टीका विभागहरुलाई पूर्णता दिने लगायतका एजेण्डा छ ।

उक्त बैठक अघि राय संकलनका लागि पौडेल समूहले छुट्टै भेला बोलाएको हो ।

यो बैठकपछि देउवा भने स्वास्थ्य उपचारका लागि ६ गते देश बाहिर जाने कार्यक्रम छ ।

भेलाको तयारीका क्रममा देउवा इतर समूहका प्रमुख नेताहरुको बैठक बसेको थियो, जहाँ पौडेलले आफू पार्टी सभापतिसँग नमिलेको स्पष्टीकरण लिएका छन् ।

पौडेलले आफूलाई बदनाम गर्ने योजनाअनुसार नै देउवासँग मिलेको खबर फैलाइएको हुन सक्ने आशंका गरेका छन् । असार १९ गते देउवाले बोलाएको भेलामा पौडललगायतका नेता उपस्थित भएपछि देउवासँग पौडेल मिल्न लागेको भन्दै केही नेताहरु असन्तुष्ट बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्