काठमाडौं, १ साउन । वर्तमान केपी ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खाजेको आरोप लगाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आज काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
सरकारले अधिकारको पक्षमा लडेको भनेपनि नागरिकको अधिकार खोस्न खोजेको, गोविन्द केसीको माग पूरा गर्न चासो नदिएकोलगायतका समेत लगाउँदै सरकारको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो ।
माइतीघरमा भेला भएर नाराबाजीसहित संघीय संसद भवन नयाँ वानेश्वरतर्फ अघि बढेका नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र समेत तोड्ने प्रयास गरेपछि केहिबेर दुई पक्षीय झडप समेत भएको थियो ।
सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा केहि नेविसंघका कार्यकर्ता घाइते समेत भएको बताइएको छ । घाईते हुनेहरुमा अध्यक्ष नैनसिंह महर, उपाध्यक्षद्धय पुष्पकुमार शाही, निलकण्ठ रिमाल, महामन्त्री आनन्द त्रिपाठी नेताहरु क्रमशः सुवास कठायत, विपिन कटुवाल र सुशान्त सिटौला रहेका छन् ।
पछिल्लो समय सरकार विरुद्ध कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ ।
कांग्रेसले केहिअघि बैठकबाटै सडक र सदनबाट सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीतिसहितको निर्णय गरेको थियो ।
तस्विर : मुकुन्द कालिकोटे