काठमाडौं, २ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारका नियुक्तीमा आफ्ना मान्छे मात्रै नियुक्त गर्ने आन्तरिक सहमति बनेको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच हालै भएको गोप्य छलफलमा यस्तो सहमति बनेको स्रोतको दाबी छ । सिंहदरबारस्थित एक मन्त्रालयका सचिवले नाम नबताउने शर्तमा रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारी अनुसार दुवै अध्यक्षबीच सरकार सञ्चालनमा सजिलो हुनेगरि आफूहरु निकटका व्यक्तिहरुलाई विभिन्न रिक्त पदमा धमाधम नियुक्ती गर्ने आन्तरिक सहमति बनेकोछ ।
पहिलो प्राथमिकतामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विभिन्न पदमा व्यवस्थापन गर्ने र कांग्रेसको पालामा नियुक्त भएका अस्थायी तथा करारका कर्मचारीहरुलाई जागिरबाट हात धुवाईदिने पनि वर्तमान सरकारको आन्तरिक तयारी छ ।
सम्बन्धित समाचार/RELATED NEWS:
सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको छः प्रधानमन्त्री ओली
ओली-प्रचण्डप्रति मन्त्री उपेन्द्र यादवको यस्तो विश्वास
भ्रष्टाचार भएको पाइए कारबाही गर्न ओली-प्रचण्डको निर्देशन
यसै सेरोफेरोमा अब कसरी अघि बढ्ने भन्ने योजना बुन्न बसेको ओली प्रचण्डको एक्लाएक्लै भेटवार्तामा पहिलो प्राथमिकतामा पार्टीभित्रपनि आफूहरु निकटका नेता तथा कार्यकर्ताहरुलाई विभिन्न रिक्त पदमा नियुक्ती गर्ने भद्र सहमति बनेको छ ।
पछिल्लो समय प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग रुष्ट छन् । कांग्रेसले सरकारको विरोधमा जनमत सिर्जन ागर्न अनावश्यक लाञ्छना लगाउने गरेको ओलीको आरोप छ । ओलीले हिजो (मंगलबार) मात्रै पनि पार्टीको बैठक डाकेर आफ्ना सांसदहरुलाई सरकारको बचाउ र विपक्षीहरुले लगाएका आरोप तथा विरोधहरुको कडा रुपमा खण्डन गर्न निर्देशन दिएका छन् ।
उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने वर्तमान सरकारविरुद्ध कडा आन्दोलन थाल्ने चेतावनी दिईसकेको छ । डा. गोविन्द केसीको अनसनलाई लिएर संसद अबरुद्ध गर्दै आएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अब देशब्यापी सडक आन्दोलन चर्काउने भएको छ ।
हिजो (मंगलबार) अपरान्ह पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।
कांग्रेसको यो निर्णयसँगै प्रधानमन्त्री ओली झनै आक्रमक बनेका छन् । ओलीले सरकारको प्रतिरक्षा नगरेको भन्दै आफ्नै पार्टीका नेता/कार्यकर्ताको आलोचना गरेका छन् ।
विपक्षीहरु एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको तर आफ्नै पार्टीका नेता कार्यकर्ताले सरकारका राम्रा काम तथा नीतिको समेत प्रतिरक्षा नगरेको उनको गुनासो छ ।