काठमाडौं ३ साउन । नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बिहीबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ ।
संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । संघका अनुसार आज सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी दिउसो १२ बजे माइतिघर मण्डलामा भेला गरिने छ ।
यति गर्दा पनि सरकार संवेदनशील नभए आकस्मिकबाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गरिने संघको दाबी छ ।
असार १६ गतेदेखि जुम्लामा अनसनरत प्रा.डा.के.सी.को जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्य मन्त्रीसहित दलका शीर्षस्थ नेतासँग अपिल गर्दा समेत सरकारले नटेरेको संघको आरोप छ । संघले सरकारद्वारा गठित वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा.के.सी.लाई जबर्जस्ती काठमाडौं ल्याउने प्रपञ्चमात्र रचिएको आशंका छ ।
संविधानप्रदत्त नागरिकको स्वास्थ्य र शिक्षासम्बन्धी मौलिक हकका पक्षमा उठेको नागरिक आवाजलाई दबाउन खोज्ने र राज्यको तर्फबाट अफवाह फैलाउने कार्यप्रति संघले भत्र्सना र निन्दा गरेको छ ।
संघले प्रेस विज्ञप्तीमार्फत् माथेमा आयोगको प्रतिवेदनअनुसारकै विधेयक ल्याउनुपर्ने माग राखी १९ दिनदेखि अनसनरत डा. के.सी. ले जीवन नै त्याग्नुपर्ने परिस्थिति सिर्जना भएमा संघ जस्तोसुकै परिस्थितिको सामना गर्न पछि नह्टने चेतावनी दिएको छ । हालको विवादास्पद विधेयक फिर्ता गरी पुरानै अध्यादेशअनुसारको विधेयक ल्याई डा. के.सी.को जीवन बचाउन संघले माग गरेको छ ।