Logo

परियोजनाको बजेट दुरुपयोग भएको आरोप



सुनसरी, ५ साउन । मोरङ बुढीगंगा गाउँपालिका भित्रका च्याउ खेती गर्ने किसानहरूले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट दुरुपयोग भएको आरोप लगाएको छ।

किसानकै लागी किटान गरेर आएको बजेट गाउँपालिकाले अन्यत्र खर्च गरेर किसानलाई वेवास्ता गरेको उनीहरूको आरोप छ। इटहरीस्थित रिपोटर्स क्लब सुनसरीमा पत्रकार सम्मेलनको आयोगरी च्याउ खेती गर्ने किसानले किसानकै लागी आएको रकम दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन्।

नेपाल च्याउ उद्योग बुढीगंगा – ७ मोरङका सञ्चालक सरोज नेपालले सरकारबाट किसानको लागी आएको रकम समेत किसानले नपाएको गुनासो गरे। च्याउको वीउ उत्पादनमा समेत राज्यले सहयोग नगरेको किसानको भनाई थियो।

किसानलाई उच्चस्तरीय तालिम दिनु पर्ने, च्याउलाई प्रशोधन गरिनु पर्ने, वास्तविक किसानलाई सहुलियत व्याजमा ऋण दिनुपर्ने लगायतका माग च्याउ किसानले गरेका हुन्।

च्याउ किसान विष्णुबहादुर मगर भने, ‘हाम्रो दुःख राज्यले हेरेन। वास्तविक किसानलाई राज्यले सहयोग गरे किसानहरू च्याउ खेतीमा लाग्ने थिए।’ यता बुढी गंगा गाउँपालिकाका कृषि विकास शाखाले भने गाउँपालिकाको ५ वटा फर्मलाई साडे तीनलाख अनुदान वितरण गरेको जनाए।

नेपाल च्याउ उद्योगलाई दुईलाख,सृष्टि कृषि फर्मलाई २५ हजार, ह्यापी फेमिली बचत तथा ऋण सहकारीलाई २५ हजार, अगुवा कृषक कृषि यान्त्रीकरण सहकारीलाई ५० हजार र मदनपुर बहुउद्देशीय कृषि फर्मलाई ५० हजार रुपैयाँ वितरण गरेको छ भने अन्य रकम अन्यत्र खर्च भएको पनि स्वीकार गरेको छ।



प्रतिक्रिया दिनुहोस्