काठमाडौं ६ साउन । नेपाली कांग्रेस, नयाँ शक्ति र विवेकशील साझा पार्टीका नेताहरुसँगै सडक आन्दोलनमा उत्रिएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सात देखि १० कक्षासम्म पढेका व्यक्तिसँग आफ्नो कुनै गुनासो नभएको बताएकी छन् ।
चिकित्सा शिक्षा र सेवा सुधारको मागसहित २२ दिनदेखि अनसनरत त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको समर्थनमा शनिवार आयोजित सभामा उभिएर उनले केसीका काम पूरा नभए देशमा आगो बल्ने चेतावनी समेत दिएकी छन् ।
सोलिडारिटी फर डा. केसी अलायन्सको व्यानरमा कांग्रेस नेता तथा पूर्व मन्त्री गगन थापा, नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसहितका नेता र नागरिक अगुवासँगै प्रदर्शनमा उत्रिएकी कार्कीले माग पूरा गर्न सरकारलाई आग्रह समेत गरिन् ।
प्रधानन्यायाधीशबाट अवकाश पाएपछि दोस्रोपटक सडकमा उत्रिएर भाषण गरेकी कार्कीले केसीको पक्षमा बोल्दा आफूलाई पार्टीको कार्यकर्ता भएको आरोप लाग्नसक्ने भन्दै भनिन्, ‘आरोप लागे पनि केसीको मागमा चुप लागेर बस्न सकिन, उनका माग पूरा हुनैपर्छ ।’
उनले केसीका काम पूरा हुनुपर्ने तर्क गर्दै भनिन्, ‘उहाँले जे माग राख्नुभएको छ, त्यो आफ्नो निम्ति राख्नुभएको होइन, तपाईं हाम्रो निम्ति मागेको हो ।’
डा. केसीको मागमा नबोली नहुने भएर बोल्न बाध्य हुनुपरेको उनको तर्क छ । उनले विगतमा पनि आफूलाई सरकारको मानो खाएर जे पायो त्यही भन्ने गरेको आरोप लागेको बताउँदै भनिन्, ‘एउटा मानिस मृत्युशैयामा छ, अस्ति भएको निर्वाचनमा उहाँ (सरकारमा रहेका दल) को घोषणापत्रमा जनतालाई शिक्षा र स्वास्थ्य सर्वसुलभ गराउने भन्ने थियो,’ उनले भनिन्, ‘त्यस्तो बाचा गरेर उहाँहरुले निर्वाचन जित्नुभएको हो, डा. केसीले अहिले त्यही माग राख्नुभएको छ ।’
आदर्श सरकारले स्वास्थ्य र शिक्षालाइ सर्वसुलभ बनाउनुपर्ने भन्दै उनले बिना प्रसंग भनिन् , ‘७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई के भनौं र खै ? तर केही भन्दिनँ उहाँहरु पनि आफ्नै नेपाली हुन् गाली गर्दिनँ ।’
उनले ठेकेदारलाई मोटो बनाएर समाजवाद नआउने तर्कसमेत गरिन् । ठेकेदारले प्रधानमन्त्रीलाई काका–मामा र हजुरबुबाको साइनो लगाएर मार्सी भात खुवाएकै हो भन्दै हिडेको भन्दै उनले असन्तुष्टि समेत जनाइन् ।