साउन ६, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले सरकारले राम्रो काम गर्छ भन्ने विश्वासका साथ समर्थन गरे पनि सरकारले गलत काम गर्न थालेकाले समर्थन फिर्ता लिनुपर्ने बताएका हुन् ।
सरकार कमजोर हुँदै गएकाले समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको यादवले बताए ।
“सरकारको यस्तै रवैया, अलोकतान्त्रिक चरित्र देखाइरहने, जनतालाई दिएको सपना पूरा नगर्ने हो भने समर्थन फिर्ता लिन्छौँ भनेर प्रधानमन्त्रीलाई सचेत गराएका छौँ । अब सरकार सुध्रिएन भने समर्थन फिर्ता लिने विषयमा निर्णय लिन्छौँ ।” यादवले भने ।
सरकारका विषयमा पार्टीभित्र एकमत रहेको उनको दाबी छ ।