साउन ६, काठमाण्डौ । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका नेताहरुले नै राजिनामा दिनुपर्ने बताएका छन् ।
तामाङको अभिव्यक्तिप्रति चौतर्फी आलोचनाका साथै राजिनामासमेत मागिएको छ ।
सम्बन्धित समाचार :
कानुनमन्त्री तामाङ र दुर्गा प्रसाईको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति
कानूनमन्त्री तामाङले यसरी माँगे माफी
बंगलादेशमा मेडिकल पढ्ने नेपाली छात्राहरुले शरीर बेच्नुपर्छ भनेपछि तामाङको मन्त्री पद धरापमा
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कानुनमन्त्री तामाङले नेपाली चेलीले आफूलाई नसुम्पी बंगलादेशमा डाक्टरको सर्टिफिकेट नपाउने ठोकुवा गरेका थिए ।
काठमाडौंमा एसईई उत्तिर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री तामाङले भनेका थिए, “आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ ।”
यही विषयलाई लिएर नेकपाकै नेताहरुलेसमेत आपत्ति जनाएपछि तामाङ अप्ठ्यारोमा परेका थिए । उनले उक्त अभिव्यक्तिप्रति क्षमायाचनासमेत गरेका छन् ।
क्षमायाचना गरिसकेपछि पनि आफ्नै दलबाट आलोचित भएका तामाङले माफी मागिसकेकाले राजिनामाको कुरा नउठाउन आग्रह गरेका छन् ।
उनको अभिव्यक्तिलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए ।
श्रेष्ठले सामाजिक संजालमा टुइटरमा यसबारे आफ्नो धारणा राख्दै तामाङको टिप्पणी दुखद रहेको उल्लेख गरेका छन् । तामाङको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै श्रेष्ठले झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी पनि आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।
उनले प्रसाईलाई उक्त विषयमा आत्माआलोचना गर्न पनि आग्रह गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विज्ञप्ति नै जारी गरेर तामाङको भनाईको विरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसमक्ष राप्रपा माग गर्दछ ।”
त्यसैगरी नेकपाकै नेतृ तथा सासंद रामकुमारी झाक्रीलेसमेत तामाङको अभिव्यक्तिप्रति आपत्ति थिइन् । तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राबारे गरेको टिप्पणीप्रति नेपाली कांग्रेसले पनि बिरोध जनाएको छ ।
मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राले सर्टिफिकेटका लागि शरीर सुम्पिनुपरेको अभिव्यक्ति दिएकोप्रति कांग्रेसले आपत्ति जनाएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस्ता अभिव्यक्ति रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए ।