काठमाडौं, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजिनामा माँगेकी छिन् ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै सांसद झाँक्रीले मन्त्री तामाङको राजिनामा माँग गरेकी हुन् ।
सम्बन्धित समाचार :
कानुनमन्त्री तामाङ र दुर्गा प्रसाईको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति
कानूनमन्त्री तामाङले यसरी माँगे माफी
बंगलादेशमा मेडिकल पढ्ने नेपाली छात्राहरुले शरीर बेच्नुपर्छ भनेपछि तामाङको मन्त्री पद धरापमा
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता बिश्वप्रकास शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री तामाङको टिप्पणीप्रति आपत्ति जनाएका हुन् ।
‘सत्तापक्षधर केही व्यक्तिहरुबाट अभिव्यक्त आपत्तिजनक धारणालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ । खासगरी वंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत हाम्रा चेलीहरुको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक मनोभावलाई हेक्का नराखी व्यक्त धारणाहरु अत्यन्तै निन्दनीय र आपत्तिजनक छन् । एकजना व्यवसायीले मात्रै होइन, सरकारको मन्त्रीले समेत यस्तो अभिव्यक्ति राख्दा प्रधानमन्त्रीको मौनता झनै गम्भीर कुरा हो’ विज्ञप्तिमा भनिएको छ ।
यद्यपी मन्त्री तामाङले आफ्नो टिप्पणीप्रति आइतबारै माफी मागिसकेका छन् ।