धनराज वास्तविकः काठमाडौं, ७ साउन । आज, साउन महिनाको पहिलो सोमबार । आजको दिनमा महिलाहरु मन्दिरमा पुगी भक्तिभाव व्यक्त गर्दछन् । रमाईलो त के भने, पशुपतिमा पुगेका महिलाहरु आ-आफ्नै सुरु तालमा देखिन्थे ।
कोही सेल्फी खिच्नमा व्यस्त थिए भने कोही पूजापाठ गर्नमा व्यस्त थिए । नेपाली चेलीहरुको पर्वका रुपमा भित्रिएको साउन र भदौरे झरीमा भिज्दै भक्तिभावका भाकाहरु मिलाउँदै पुजापाठ गरेको देखिन्थ्यो ।
देशैभरका विभिन्न मन्दिरहरुमा आज पूजा अर्चना गर्ने महिलाहरुको भीड बाग्लो छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा सोमबार विहानैदेखि पूजा आराधना गर्नेहरुको भीड लागेको छ । साउन महिनाभरी धर्मकर्म गर्नेहरुले माछा मासु र प्याज लसुन सेवन नगर्ने प्रचलन छ ।
साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । साथै सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास समेत छ ।
फोटो-मुकुन्द कालिकोटे