साउन ८, काठमाण्डौ । डा. गोविन्द केसीको मागका सम्बन्धमा सरकारले चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर पनि समाधान खोज्न सकिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले संसदमा लगिएको विधेयक फिर्ता लिने सम्भावना नै नहुने भन्ने कुरामा सत्यता नरहेको बताएका हुन् ।
तर फिर्ता लिनुपर्ने कारण भने स्पष्ट हुनुपर्ने उनको तर्क छ । “गोविन्द केसीले जे भन्नुहुन्छ त्यो गर्दै जाने हो भने संसदबाट बनाउनुपर्ने १ सय ५० वटा कानुन नै नबनाउ भन्नुभयो भने हामी हात बाँधेर बस्ने त ?” भट्टराईले प्रश्न गरे ।
सरकार लचक भएको भन्दै उनले कुनै पनि बेला गोविन्द केसीको प्रतिनिधीसँग वार्ता गर्न तयार रहेको बताए ।
भट्टराईले गोविन्द केसीलाई वार्तामा ल्याएर सहजकर्ताको भूमिका खेलिदिन ऋषि धमलालाई आग्रहसमेत गरे ।
“तपाई रिपोर्टस क्लबको अध्यक्ष हुनुहुन्छ । तपाईले नै गोविन्द केसीजीलाई वार्तामा ल्याउनुस् । सरकारी र केसी पक्षका वार्ता टोलीको बीचमा बसेर कुन कुन माग जायज छन् भन्ने कुरा दुवै पक्षलाई चित्त बुझाइदिनुस् ऋषिजी, तपाईले भनेको कुरा जस्ताको तस्तै कार्यान्वयन गर्न हामी तयार छौँ ।” भट्टराईले भने । “मैले तपाईलाई नै जिम्मा दिएँ ल, अब गोविन्द केसीलाई तुरुन्त भेटेर सरकारसँग वार्ता गराउने काम गर्नुस, हामी धमलाजिलाई पुरस्कृत गर्छौँ ।”
संचारकर्मीहरु आगोमा घिउ हाल्न नगई निभाउन जानुपर्ने भट्टराईको तर्क छ । “केही सम्पादकहरु गएर गोविन्द केसीलाई ऐक्यवद्धता जनाउनु अधिकारको कुरा हो । तर त्यसले उहाँहरुको भूमिका निर्वाह हुँदैन । म तपाईलगायत मिडियाका साथीहरुलाई आग्रह गर्छु, गोविन्द केसी र सरकारलाई वार्ताको टुबुलमा बसाउनुस् ।”
प्रधानमन्त्री केपी ओलीसमेत केसीसँग वार्ता गर्न तयार रहेको उनले बताए ।