Logo

कानूनमन्त्रीमा तीन जनाको दाबी, पाण्डेको सम्भावना बढि !



काठमाडौं, ९ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पदबाट हिजो मंगलबार शेरबहादुर तामाङले राजिनामा दिएपछि नयाँ कानूनमन्त्री बन्ने दौडमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु दौडधुपमा उत्रिएका छन् ।

अहिले चर्चामा रहेका नामहरुमा पूर्वमन्त्री समेत रहेका नेता सोमप्रसाद पाण्डेको बढि चर्चा छ । नेता पाण्डेको नाममा पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपनि सकारात्मक रहेको स्रोतको दाबी छ । पाण्डे बरिष्ठ नेता माधव कुमार नेपालका सम्धि समेत हुन् । उनी २०५१ सालदेखि पाल्पाबाट लगातार सांसद बन्दै आएका छन् ।

पाण्डे कानूनी पृष्ठभुमिका नेता भएकोले प्रधानमन्त्री ओलीले उनलाई कानूनमन्त्रालयको जिम्मेवारी दिने सम्भावना बढेर गएको बुझिएको छ । पाण्डे २०४५ सालमा सर्वोच्च बार एशोसियसनको सदस्य थिए । २०४८ सालमा नेपाल बार एशोसियसन पाल्पाको ईकाई अध्यक्षको रुपमा समेत पाण्डेले आफ्नो भूमिका निर्वाह गरेका थिए ।

उद्योगमन्त्री हुँदा पाण्डेले राम्रो काम गरेको र अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई कामबाट खुशी तुल्याएका छन् । उनी जनतामा अत्यन्तै लोकप्रिय छन् ।

कानुनमन्त्री बन्ने दौडमा अरु दुई जना नेताहरु भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलपनि दौडधुपमा रहेका छन् । नेता ढकाल प्रधानमन्त्री ओलीको विश्वासपात्रको रुपमा चिनिन्छन् । उनी मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन् । उनले कांग्रेसका उम्मेद्धवार डा. सुनिल शर्मालाई पराजित गरेका हुन् ।

त्यस्तै कानूनमन्त्री बन्ने दौडमा अर्का नेता कृष्णभक्त पोखरेलपनि लागिपरेका छन् । पोखरेल कानूनको पृष्ठभुमिबाट आएका नेता हुन् । उनी संसदीय नियामावाली मस्यौदा समितिका सभापति समेत थिए । मस्यौदा समितिको सभापति हुँदा उनले अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको पार्टीका नेताहरुले बताउँदै आएका छन् । पोखरेल चितवनबाट निर्वाचित सांसद हुन् । उनलाई मन्त्री बनाउनको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सकारात्मक छन् ।



प्रतिक्रिया दिनुहोस्