
काठमाडौं १० साउन । चिकित्सा शिक्षा विधेयकमा सरकार र केसी पक्षबीच सहमति हुन नसक्दा वार्ता निष्कर्षविहीन भएको छ । केसी पक्षले विधेयकमा संशोधन गर्न २२ बुँदा प्रस्तुत गरेको छ जसमा सरकार सकारात्मक छैन । केसीका अरू ६ मागमा भने दुवै पक्ष लगभग सहमतिनजिक छन् ।
मंगलबारको वार्ता सकारात्मक भएको भन्दै दुवै पक्षले बुधबार सहमति हुने दाबी गरेका थिए । सहमतिको प्रारम्भिक खाका पनि तयार गरिएको थियो । तर, बुधबारको वार्तामा सरकारी टोली स्पष्ट खाकासहित नआएकाले छलफल अगाडि बढ्न नसकेको केसीका वार्ताटोली सदस्य डा. जीवन क्षेत्रीले बताए ।
विधेयकका विषयमा स्पष्ट म्यान्डेटसहित आए मात्रै सरकारी टोलीसँग वार्ता हुने नत्र अब वार्ताको औचित्य सकिएको केसी पक्षका वार्ताटोली सदस्य डा. क्षेत्रीले बताए । ‘मंगलबार वार्ता सकारात्मक रूपमा अगाडि बढेको थियो । सरकार पनि संशोधनसहित अगाडि जाने भन्ने सहमति भएको थियो । तर, आज उहाँहरू के–के विषय संशोधन गरेर जाने भन्ने म्यान्डेट लिएर नआउँदा वार्ता अगाडि बढेन,’ उनले भने ।
सरकारी वार्ताटोलीका संयोजक खगराज बरालले भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा कुरा नमिलेपछि वार्ता अगाडि बढ्न नसकेको बताए ।
कांग्रेस र विवेकशील साझा पार्टीका कारण वार्ता भाँडियो : कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेका छन् । हिजो केसी र सरकार पक्षबीच सातबुँदे सहमति भएको थियो । हिजोको वार्तापछि कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्यालको होटेल क्रिस्टल थापाथलीमा बैठक बस्यो ।
सरकारसँग भएको सहमति नमान्ने निष्कर्ष उनीहरूले हिजै निकालेका थिए । आजको वार्तामा केसीका तर्फबाट आएका जीवन क्षेत्री र अभिषेक सिंह लचिलो रूपमा प्रस्तुत भएका थिए । तर, विवेकशील साझाका ओम अर्याल र सुरेन्द्र भण्डारीले भने हिजोको सहमति कार्यान्वयन गर्ने प्रक्रियाका विषयमा विवाद झिके ।
सरकारका तर्फबाट सातबुँदे सहमतिअनुरूप संसद्मा सरकारले प्रस्तुत गरेको विधेयक संसद्मा गइसकेकाले सहमतिअनुरूपको संशोधन गर्न लचकता प्रस्तुत गरिएको थियो । विधेयकमाथि संशोधन गर्ने क्रममा संशोधन प्रस्तावमार्फत केसीका माग अघि बढाउन साझा विवेकशीलका प्रतिनिधि सहमत भएनन् । संसद्को प्रक्रिया जेसुकै भए पनि सरकारले अहिले नै संसद्ले पास गर्ने दस्तावेजमा सही गर्नुपर्ने जिद्दी गरेका थिए । नयाँपत्रिकाबाट