साउन १०, काठमाण्डौ । डा. गोविन्द केसीको अनशन २७ औँ दिनमा चलिरहेको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि सरकारलाई चुनौति दिइरहेका केसीको स्वास्थ्य अवस्था निकै चिन्ताजनक अवस्थामा पुगेको उनको उपचारमा संलग्न डाक्टरहले बताएका छन् ।
यता सरकारले भने उनको माग पूरा गर्नेभन्दा पनि अनशन तोडाउने उपाय मात्रै खोजेको जस्तो देखिएको छ । तर केसीले भने माग पूरा नभएसम्म ज्यानै गए पनि अनशन नतोड्ने अडान लिएका छन् ।
केसीका माग पूरा गर्ने विषयमा सरकार र केसी पक्षबीच दुई दिन वार्ता भयो । तर वार्ताले कुनै पनि निष्कर्ष निकाल्न सकेन । अबको वार्ता नै अनिश्चित बनेको छ ।
हिजोको वार्ता असफलभएपछि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को चरणको वार्ताका लागि विशेष पहल सुरु गरेका छन् । हिलो वार्ता भाँडिएलगत्तै श्रेष्ठले केसी पक्षबाट वार्तामा सहभागि डा. सुरेन्द्र भण्डारी र डा. अभिषेक सिंहलगायतलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए ।
छलफलपछि श्रेष्ठले हिजै राति प्रधानमन्त्री केपी ओलीलाई भेटेर केसीलाई कसरी अनशन तोडाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।
केसी पक्षबाट वार्तामा सहभागि भण्डारी र सिहलाई समेत लिएर श्रेष्ठ प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओली चिकित्सा शिक्षा विधेयक संसदमा छलफल गरेर संशोधन गर्न सकिने संकेत दिएका थिए ।
ओलीको संकेतसँगै साँझसम्म अन्योल भएको परिस्थिती एकाएक मध्यरातबाट सकारात्मक दिशातर्फ मोडिएको थियो ।
ओली लचिलो देखिएपछि आज दिनभरमा नै केही न केही सहमति हुने सम्भावना बढेर गएको छ ।