-श्यामबाबु आचार्य(गर्गाचार्य), वरिष्ठ वास्तुविज्ञ तथा ज्योतिष
आजको दिन विशिष्ट दिन हो । पढाई र अध्ययनका लागि अनुकुल हुने भएकाले गुरु पुर्णिमा मनाइएको हो ।
वैदिक कालदेखि हाम्रो गुरुकुलीय शिक्षा प्रणाली सुरु भएको थियो । त्यसबेला देखि नै गुरुको सम्मान गर्न थालिएको हो । गुरु पूर्णिमादेखिको ४ महिनालाई अध्ययनको महिना मानिन्छ । यो समय भनेको वातावरण पनि राम्रो हुने समय हो । अबको चार महिना अध्ययन अनुसन्धानको लागि प्रभावशाली समय हो । यसको लागि तयारीका लागि गुरु भक्ति र सम्मान गर्ने गरिएको हो ।
आजको दिन गुरुको आराधना गरेर गुरुको मार्गनिर्देशनअनुसार म अध्ययनमा लाग्छु भनेर प्रतिवद्धता जनाउने दिन हो । यो परम्पराता वैदिककाल देखिनै सुरु भएको हो ।
दत्तात्रेयको २४ जना गुरु हुनुहुन्थ्यो । श्रीकृष्णको पनि गर्ग, ऋषि लगायतका थुप्रै गुरुहरु हुनुहुन्थ्यो । पृथ्वीनारायण शाहको गोरखनाथ गुरु हुनुहुन्थ्यो । तर पछिल्लो समय नयाँ प्रकारको शिक्षा पद्धति आयो । अहिले त पहिलाको जसरी गुरु पनि मानिदैन । पहिला त सबैभन्दा धेरै आदर सम्मान गुरुलाई नै गरिन्थ्यो । गुरुको निर्देशनमा नै शिक्षा प्रणालीलाई अगाडि बढाइन्थ्यो ।
मानिसलाई नैतिक शिक्षाको आवश्यकता हुन्थ्यो । कसलाई कसरी सम्मान गर्ने भने कुरा सिकाइन्थ्यो । आमा, बाबु, गुरु, अग्रजलगायतलाई सम्मान गरिन्थ्यो । तर पछिल्लो समयमा नैतिक शिक्षाको अभाव देखिएको छ । गुरुहरुमा पनि केही समस्याहरु होलान् । तर विद्यार्थीहरुमा झनै ठूलो समस्या आइरहेको छ । जसका कारण विश्वमा नै अशान्ति बढेको छ ।
जसले हामीलाई ज्ञान प्रदान गर्नुहुन्छ, उसको सम्मान गर्न सिक्नुपर्छ । गुरुको नै सम्मान गर्न सक्दैनौँ भने हामी कसको सम्मान गर्न सक्छौँ र ?