साउन ११, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वकालमा दुईबाट दुई दर्जन मेडिकल कलेज स्थापना भएको स्वीकार्दै संख्यासँगै समस्यासमेत बढेको जनाएको छ ।
समसामयीक विषयमा जानकारी दिन शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नै कारण समस्या सिर्जना भएको स्वीकार्दै समाधानको पहल पनि आफैँले गरेको दाबी गरे ।
सम्बन्धित समाचार :
गगन थापाले संसदमा भने-मैले वार्ता भाँडेको होइन, सहमति खोज्ने प्रयास गरेको हुँ
चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधानका लागि डाक्टर गोविन्द केसीको माग सुनुवाई गर्दै माथेमा कार्यदल कांग्रेसले नै गठन गरेको भन्दै उनले केसीको माग पूरा गर्दै अध्यादेश कांग्रेस सरकारले नै जारी गरेको स्मरण गराए ।
सरकार र अनसनरत केसीबिचको सहमतिलाई स्वागत गर्दै त्यसको इमान्दार कार्यान्वय हुनुपर्ने उनको भनाई छ । साथै हिजोको सहमतिकै कारण संसदमा विध्यकप्रतिको विरोध सूचना फिर्ता लिइएको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।
डा. केसीको माग र अनशनका सन्दर्भमा कांग्रेसले संसद्को अवरोध र सडकबाट दिएको दबाबले बहुमतको हठमाथि विवेकको जित निश्चित भएको पार्टी प्रवक्ता शर्माले बताए । शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार र अग्रगतिका लागि कांग्रेस निरन्तर अगाडि बढ्ने जनाउँदै उनले आगामी १५ गते सबै जिल्ला सदरमुकाममा एकदिने विरोध प्रदर्शन गर्ने जानकारी दिए ।
प्रदर्शनमा डाक्टर केसी र सरकारबीचको सहमति कार्यन्वयनमा ढिलाई नगर्न खबरदारी गर्ने कांग्रेस प्रवक्ता शर्माले बताए । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रदेश र संघीय संसदमा सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने विषयलाई सडक र संसदमा लिएर जाने जानकारी दिए । उनले काग्रेसको बिधान मस्यौदा समितिको नामावली सार्वजनिक हुने दाबी गरे ।