काठमाडौं १२ साउन । विराटनगर महानगर–१० निवासी ६५ वर्षीय उमेश गिरी ४ मंसिर ०७४ मा अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरे । उनले लामो समय कांग्रेसमा रहेर राजनीति गरे । मोरङको ५ नम्बर क्षेत्रबाट शैलजा आचार्यविरुद्ध दुईपटक बागी उम्मेदवारसमेत बने । ०६४ को संविधानसभा निर्वाचनमा तमलोपाबाट पनि उम्मेदवार बने । कांग्रेसले गरेको जहाज अपहरण, कृष्णप्रसाद भट्टराई हराउ अभियान, उद्योगी तुलसीराम अग्रवाल अपहरणलगायत विभिन्न काण्डमा जोडिएका गिरीले आफ्नो जीवनका केही रमाइला किस्सा सुनाएका छन् :
पिछलग्गु भएर आन्दोलनमा
म विराटनगरको तिनपैनीमा जन्मेको हुँ । एसएलसी आइए पढ्न मोरङ क्याम्पसमा भर्ना भएँ । मनमोहन कोइरालाका छोरा प्रकाश, भतिजा शेखर, राजदूत महेश मास्केहरू क्लासफेलो थिए । स्कुल पढ्दैखेरि नै विजय अर्याल, बच्चु सापकोटा, रामलक्ष्मण, हरि सापकोटा, हरि न्यौपानेजस्ता कट्टर कांग्रेसीहरूसँग संगत भयो । ०२२ मा विराटनगरमा नाचघर काण्ड चर्कियो । विराटनगरमा रहेका डिआइजी नारायण सिंहलाई राष्ट्रिय नाचघरमा युवतीमाथि अभद्र व्यवहार गरेको आरोप लाग्यो । कांग्रेस समर्थक विद्यार्थीहरूले विराटनगरमा ठूलो आन्दोलन चर्काए ।
म त्योवेला पिछलग्गु भएर आन्दोलनमा सहभागी भएँ । दुर्गा सुवेदीहरू अगुवा भएर लागेका थिए । म दुर्गा दाइको फ्यान भएकाले आन्दोलनमा पिछलग्गु बनेको थिएँ । मैले ०१६ सालको स्थानीय चुनावमा पहिलोपटक कांग्रेसको रूख चिह्न देखेको थिएँ । ०२४ मा ७२ लाख काण्ड चर्कियो । नगरपञ्चायत भएपछि पञ्चहरूले भ्रष्टाचार गरेको विषय थियो त्यो । भयानक संघर्ष भयो । दुर्गा सुवेदी, म, नगेन्द्र ढुंगेल, वसन्त भट्टराईलगायतले विभिन्न ठाउँमा आगजनी गर्याैं ।
सरकारी गाडीमा आगो लगायौँ । हामीलाई ५५ नम्बरको पुर्जी काटियो । ०२५ मा १० कक्षा पढ्दा कृष्ण पोखरेल सरलाई सरुवा गरियो । हामीले सरुवा बदर गराउन हड्ताल गर्यौँ । अखिल र नेविसंघले आन्दोलन चर्कायौँ । हामीलाई आर्मी लगाएर पक्रेर थुनियो । जेलमा टिनको बक्सामा शौच गथ्र्यौं । चिसो भुइँमा सुत्थ्याैँ ।
सशस्त्र क्रान्तिको तयारी
०२६ मा बिपी सशस्त्र क्रान्तिको तयारी गर्न भनेर भारत फर्किए । गिरिजा पनि सँगै गए । पछि पर्यटन भिसामा बिपी लन्डन गए । त्यहीँबाट पञ्चायतविरुद्ध सशस्त्र क्रान्तिको घोषणा गरे । उनले नेपालमा प्रजातन्त्र फर्काउन क्रान्तिबाहेक अर्को विकल्प छैन भनेका थिए । त्योवेला विनोद अर्यालले मलाई जनमुक्ति सेनाको फारम भराए । १५० जना जतिले फारम भर्यौँ । दुर्गा सुवेदीले हतियार दिए, जंगलमा फायरिङ गरेर तालिम लियौँ । मिलेटेरी ट्रेनिङ लियौँ । बरगाछीमा रहेको भरत कोइरालाको गोदाममा हतियार जम्मा गरेर पाटपुर्जा सफा गर्न, जोड्न र कस्तोखालको हतियार कसरी चलाउने भन्ने सैद्धान्तिक कुरा सिक्यौँ । सबै कुरा गोप्य रह्यो ।
३० मंसिर ०२८ मा सशस्त्र क्रान्तिका लागि विराटनगरमा पोस्टर आयो । हामीले योजना बनाएर एकैदिनमा लालटिन बालेर छ्याप्छ्याप्ती बनायौँ । सरकारी अड्डा सबैतिर टाँस्याैँ । १ पुसमा हामी समातियौँ र ९ महिने पुर्जामा जेल हाल्यो । त्यहीवेला हो मनमोहनलाई भेटेको । उनी झापा काण्डको आरोपमा जेल परेका रहेछन् । मलाई डेढ महिनापछि रिहा गरियो । त्योवेला मनमोहनले बाहिर नजाउ जेलमै बसेर पढ भनेर सुझाब दिएका थिए । जेलबाट छुटेपछि म जनकपुरको मौवामा रहेको मामाघरमा गएँ ।
जहाज अपहरणमा सहभागी हुन पाइनँ
बिहार राज्यको फरबिसगन्जस्थित सुल्तान पोखरीको डिलमा जनमुक्ति सेनाको क्याम्प थियो । आर्थिक अभावले खाना जुटाउन साह्रै कठिनाइ भइरहेको थियो । रमाइलो झोडा काण्डले गर्दा यज्ञबहादुर थापालगायत पुर्जी काटिएका कांग्रेस कार्यकर्ताहरू पनि त्यहीँ शरण लिन पुगेका थिए । फारबिसगन्जबाट सरोज कोइराला विराटनगर आए । उनले दुईवटा रिभल्बर दिए । राम्रो खान नपाउँदा गिरिजाबाबु बेहोस भए भन्ने सुन्यौँ ।
०२९ मा गिरिजा विराटनगर आए । सरोज, नोना र गिरिजासहितको बैठक बस्यो । आर्थिक जोहो कसरी गर्ने भन्ने छलफल भयो । मैले जहाज अपहरण गर्नुपर्छ भनेँ । नेपालबाट अपहरण गरेर ढाकामा ओराल्ने र पक्राउ परेका सबै कार्यकर्ताहरू छाड्न माग गर्ने योजना सुनाएँ । त्योवेला जासुसी उपन्यास र धर्मयुग दिनमान पत्रिकामा मैले जहाज अपहरणको विद्रोह पढेको थिएँ । मेरो कुरा सुनेर सबै छक्क परे । त्यतिवेला म २० वर्षको थिएँ, केटाकेटीको कुरा भनेर कुनै निर्णय भएन । पछि दुर्गा दाइ जेलबाट छुटेर आए । नगेन्द्र र मैले उनलाई भेटेर योजना सुनायौँ । उनले समर्थन जनाए ।
विनोद अर्यालका भाइ मदन अर्याल राष्ट्र बैंकमा जागिरे थिए । उनले हामीलाई पैसा आउने र जाने सूचना दिने जिम्मा लिएका थिए । त्योवेला भारुको कारोबार बैंकमार्फत धेरै हुन्थ्यो । पूर्वमा जम्मा भएको भारु राष्ट्र बैंकमा र त्यहाँबाट काठमाडौं लगिन्थ्यो । यसैगरी विराटनगर राष्ट्र बैंकबाट रंगेली बैंकमा पनि पैसा लगिन्छ भन्ने सूचना प्राप्त भयो । मदन अर्याललाई लिएर हामी फारबिसगन्ज गयौँ । गिरिजा कमान्डर थिए । उनले केटाकेटीको अगाडि किन कुरा गरेको र यहाँ किन ल्याएको भनेर मदनलाई हपारे । तर, मदन, दुर्गा सबैलाई मेरो विश्वास थियो । पछि दुवैले कन्भिन्स गरेपछि गिरिजाले अनुमति दिए । नयाँपत्रिकाबाट