विराटनगर, १२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवलाई आज निर्देशन दिएका छन।
मुख्यमन्त्री कार्यालयले यहाँ आयोजना गरेको आव २०७५÷७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्य योजनाको छलफलमा मन्त्री तथा सचिवलाई मुख्यमन्त्री राईले उक्त निर्देशन दिएका हुन। प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका सबैको सकारात्मक धारणा छ, अब यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ भनेर सबैको ध्यान केन्द्रित भएको छ उनको भनाई रहेको छ।
मुख्यमन्त्री राईले बजेटको प्रभावकारी ढंगले कार्यान्वयन आजैदेखि लाग्नुपर्नेमा जोड दिँदै बजेट सफल ढंगले कार्यान्वयनबाट जनताका सपना पूरा गर्न र प्रदेशको समृद्धिको यात्रा सफल हुने धारणा व्यक्त गरेका छन ।
उनले बजेट कार्यान्वयनमा केही चुनौती र समस्या रहेका छन् भन्दै व्यवस्थित ढंगले समस्या हल गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री राईले संघीय सरकारले प्रदेश सरकारसमक्ष हस्तान्तरण हुनुपर्ने संरचनाहरु अहिलेसम्म हस्तान्तरण नभएको बताउँदै यस सम्वन्धमा संघीय सरकारसँग बारम्बार संवाद गरिरहेको र ती संरचनाहरु हस्तान्तरण हुने विश्वास व्यक्त गरेका छन ।
कार्यक्रममा सबै मन्त्रालयका सचिवहरुले बजेट कार्यान्वयनको मार्गचित्र प्रस्तुत गरेका थिए । रासस