Logo

कञ्चनपुरमा बलात्कारपछि बालिका हत्या गरिएको भन्दै कांग्रेस महिला सांसदहरुले उठाए कडा कारबाहीको माग



काठमाडौं, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसदहरुले शुक्रबार कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारालाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

शनिबार एक विज्ञप्ती जारी गरी कांग्रेस महिला सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया नाबालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको भन्दै घट्नामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

उक्त घट्नाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कांग्रेसका महिला सांसदहरुले संसदमा समेत आवाज उठाउने जनाए ।

एक वर्षभित्र कञ्चनपुर जिल्लामा १७ वटा बालात्कारका घट्नाहरु घटेको बताउँदै जारी विज्ञप्तीमा भनिएको छ,‘पहिलेदेखि नै यस्ता घट्नाहरु यस जिल्लामा श्रृखंलाबद्ध रुपमा घटी एक बर्षभित्रमा १७ जना बलात्कृत भएका छन् भने यही असारदेखि साउन ११ गतेसम्म ४ जना बालिकाहरु बलात्कृत भएका छन् । तीमध्ये ३ जनाको हत्या र १ जना जिवित छन् । प्रहरी प्रशासन मुकदर्शक भएर घट्नालाई आलटाल पार्न खोज्नु सरकारको गैरजिम्मेवारीपुर्ण हो, सरकारको यो रवैया अमानवीय पाशविक, यातनालाई प्रशय दिएको भान नै हो ।’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद डा. डिला संग्रौला, सांसदहरु लक्ष्मी परियार, महेन्द्र कुमारी लिम्बु, रंगमती शाही, ज्ञान कुमारी छन्त्याल, नमिता कुमारी चौधरी, विमला नेपाली र मिना सुब्बाले उक्त घट्नाको चर्को बिरोध गरेका छन् ।

प्रेस विज्ञप्ती

मिति : २०७५।०४।१२
आदरणीय पत्रकार महोदय,

कुनै पनि मानिस अन्याय पर्नु र उसले न्याय नपाउनु भनेको मानव सभ्यतालाई सुहाउने कुरो होईन । हाल कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वार्ड नं. २ कि १३ वर्षीय नाबालिका निर्मला पन्तलाई सामूहिक बलात्कार गरी मृत अवस्थामा उखुबारीमा लास फेला परेको घटनाले वर्तमान सरकार कानुनी राज्य, मानव अधिकार, विधिको शासन, जनउत्तरदायी शासन व्यवस्था प्रति उदासीन रहेको प्रष्ट हुन्छ ।

उक्त घटनाको न्यानपूर्ण छानबीन गरी पीडितलाई न्याय र पीडकलाई कानुनी कारवाहीको दायरामा ल्याउन राज्यको मुख्य दायित्व हो । तर पीडितले नै न्याय माग्दा समेत सरकारले कानमा तेल हालेर बस्नु भनेको सरकार कानुनी राज्य र नागरीकको अधिकार प्रति गैर जिम्मेवार छ भन्ने स्पष्ट भएको छ । यसले सरकार दन्डहिनताको बाटो तर्फ अघि बढिरहेको र अपराधिको संरक्षण गर्न उद्धत रहेको देखिन्छ ।

नागरिक अधिकारको सम्मान र बाँच्न पाउने अधिकारको सम्मान गर्दै उक्त घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कानुनी कारवाही गरी पीडितपक्षलाई न्याय दिलाउन सरकार समक्ष हामी जोडदार माग गर्दछौँ । यस्तो घट्नाको हामी घोर निन्दा गर्दै पिडीत पक्षको परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ । पीडित पक्षले न्याय माग्दा सरकार उल्टै दमनमा उत्रेको प्रति हामी घोर भत्र्सना गर्दछौँ ।

पहिलेदेखि नै यस्ता घटनाहरु यस जिल्लामा श्रंखलाबद्ध रुपमा घटी एक बर्षभित्रमा करिब १७ जना बलात्कृत भएका छन् भने यही असार देखि साउन ११ गते सम्म ४ जना बलात्कृत भएका छन् ती मध्ये ३ जनाको हत्या र १ जना जिवित छन् । प्रहरी प्रशासन मुकदर्शक भएर घटनालाई आलटाल पार्न खोज्नु सरकारको गैरजिम्मेवारीपुर्ण हो । अमानवीय पाशविक, यातनालाई प्रशय दिएको भान नै हो ।

यस्तो दुःखद् घडीमा सम्पुर्ण महिला, सिङ्गो नेपाली समाज जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घचाउँदै सरकार र समाजको लामो निन्द्रा तोड्न पनि हामी सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछौं ।

माननीय

१. मा. डा. डिला संग्रौला ने.का. केन्द्रिय समिति
२. मा. लक्ष्मी परियार ने. का. केन्द्रिय समिति
३. मा. महेन्द्र कुमारी लिम्बु
४. मा. रंगमती शाही
५. मा. ज्ञान कुमारी छन्दयाल
६. मा. नमिता कुमारी चौधरी
७. मा. विमला नेपाली
८. मा. मिना सुब्बा



प्रतिक्रिया दिनुहोस्