Logo

डाक्टर केसीसँग भएको सहमति अक्षरंश पालना हुनुपर्छ, नत्र कांग्रेसले सदनमा निरन्तर आवाज उठाउँछ : नेता बडु



धनराज वास्तविक :काठमाडौैं, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र बडुले डाक्टर गोविन्द केसीले उठाएका मागहरु पूरा गर्न कांग्रेसले निरन्तर प्रयास जारी राख्ने विश्वास दिलाएका छन् ।

काठमाडौंको बिजुलीबजारस्थित् किङ्स कलेजमा यूवा जागरण अभियानले शनिबार आयोजना गरेको “नीति बहस कार्यक्रम”मा बोल्दै नेता बडुले यस्तो बताएका हुन् ।

उनले भने,‘कांग्रेसको नेतृत्वमा तीनवर्ष अघि जारी भएको संविधानले शिक्षा र स्वास्थ्य मौलिक हकको रुपमा समावेश गरेका कारण डाक्टर केसीले उठाउनुभएका मागहरु जायज छन् भनेर हामीले संसदमा आवाज उठाएका हौं, सरकारसँग भएको सहमति अक्षरंश पालना गर्नका लागि कांग्रेसले सदनमा निरन्तर आवाज उठाईरहने छ ।’

यूवा जागरण अभियानका अध्यक्ष चिन्तन पौडेलेको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अथितिसमेत रहेका नेता बडुले भने,‘केसीले १५ औं पटकसम्म सत्याग्रह बस्नुपर्ने स्थिति अरु कसैका कारण होईन, राजनीतिक दलहरुकै कारण आएको हो, संविधानमा ४६ वटा मौलिक हकहरुको व्यबस्था छन् तीमध्ये स्वास्थ्य र शिक्षालाई संविधानमा प्राथमिकताका साथ समावेश गरिएको छ, हामीले त्यसको कार्यान्वयन गर्नुपर्छ।’

त्यस्तै कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले नेपालमा भाषण बढि काम कम गर्ने संस्कारको विकास भईरहेको भन्दै नेपाली समाजले अझैपनि समयको महत्व बुझ्न नसकेको गुनासो पोखे ।

नेता पाण्डेले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरुले अहिले ओठे भक्तिको राजनीति गरिरहेको आरोप समेत लगाए । उनले राजनीतिमा ईमान्दार हुन नेकपाका नेता तथा कार्यकर्तालाई सुझाव समेत दिए ।

उनले भने,‘नेपाली राजनीतिले स्थापित् गरेको गलत कार्य छ सत्यलाई भ्रममा रुपान्तरण गरेर आफुमाथि बन्नेछ, यो गलत छ, नेकपाको सरकारले समयलाई बुझ्न सकेको छैन्, भाषणमा अनेकन कुराहरु बाढ्ने तर ब्यवहारमा कुनै सिन्को नभाच्ने, जनताहरुले सामान्य अधिकार र आवश्यकताहरु पूरा गर्न पाउँदैनन्, सरकारले अनेकन सपनाहरुको राजनीति गरिरहेको छ ।’

उनले अघि थपे,‘जनतालाई जहिले भ्रममा राख्ने काम गरिरहेको छ, समयको माग फरक हुन्छ मधेशमा आन्दोलन हुँदा समाधान भन्दा जलाउने काम गर्ने केपी ओली हुन, आज आएर प्रचण्डले कांग्रेसलाई लासको राजनीति गर्न खोजेको भनेर प्रश्न गरिहरहेका छन्, यस्तो पनि हुन्छ ?’

प्रदेश नम्बर ७ को यूवा, तरुण, बुद्धिजिवि र पेशागत व्यवसायीसँगको छलफल कार्यक्रमा कांग्रेस केन्द्रीय सदस्य एन.पी.साउदले साविकको सदुरपश्चिममा प्राकृतिक सम्भावना रहेको बताउँदै राज्यले त्यसको उपभोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य र शिक्षाको विषयमा राज्यले नै जिम्मेवारी लिनुपर्ने निश्कर्ष निकालेका थिए ।  साथै, उनीहरुले गरिब, निम्न वर्गीय जनता र पिछडीएको क्षेत्रलाई सम्बोधन हुने खालको स्वास्थ्य तथा शिक्षा नीति निर्माणमा ध्यान दिन कांग्रेसका सांसदहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै आजको कार्यक्रममा स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गर्दै आईरहेका विज्ञद्धारा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्