Logo

दिल्लीमा आफ्नो मृगौला बेचेपछि तस्करीमा जुटेका पाँच जना पक्राउ !



काठमाडौं १४ साउन ।  जिल्ला प्रहरी कार्यालय चितवनले मानव अंग मृगौला तस्करीको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । आरोपीहरुले पहिला आफ्नो मृगौला एक/एक वटा बेचेर पछि तस्करीमा संलग्न रहेको चितवन प्रहरीले जनाएको छ ।

अशिक्षित, गरिब र दुर्गम भेगका मानिसलाई आर्थिक प्रलोभनमा पारी उनीहरुले मृर्गौला तस्करी गरिरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का ४१ वर्षीय दुर्गाबहादुर परियार, रौतहट चपुर–४ का ३५ वर्षीय विक्रम पहारी, मकवानपुर गाउँपालिका–५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङ बयरवन–५ का ३४ वर्षीय दीपक लिम्बु र रसुवा उत्तरगया गाउँपालिका–३ का २८ वर्षीय विशाल नेपाली छन् । उनीहरुले भारतको दिल्ली पुर्‍याइ मृगौला बेचेर कमिशन लिने गरेको प्रवत्ता ढकालले बताए ।

उनीहरुले नवलपुर कावासोतीका २३ वर्षीय एक युवकलाई जागिरको प्रलोभन देखाई दिल्ली लगेर मृगौला बेच्न बाध्य पारेको थिए । ति युवा अस्पतालबाट भागेर नेपाल आएपछि प्रहरीमा उजुरी दिएका थिए । उनको उजुरीका आधारमा खोजीकार्यलाई तिव्रता दिएको चितवन प्रहरीले ति गिरोहलाई समात्न सफल भएको हो ।

पहरी, तामाङ र लिम्बु १ साउनमा चितवनबाटै पक्राउ परेका थिए भने दर्जीलाई सोही दिन काठमाडौंबाट र नेपालीलाई ४ साउनमा रसुवाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आरोपितमध्ये परियार बाहेकले अन्यले भारतमा पुगेर आफ्नो मृगौला एक/एक वटा बेचेको र आफ्नो मृगौला बेचेपछि उनीहरुले पछि त्यसै कामलाई पेशाको रूपमा अपनाएको प्रवक्ता ढकालले बताए ।

तस्करहरुले कति मूल्यमा मृगौला बेचे भन्ने पत्ता नलागे पनि प्रति मृगौला विक्रीबाट ५० हजारदेखि एक लाखसम्म कमिशन लिने गरेको खुलेको प्रहरीले जनाएको छ । २५ असारबाट थालेको अनुसन्धानले अझैँ निष्कर्ष निकाल्न सकेको छैन   । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्