कञ्चनपुर, १४ साउन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको सोमबार महाकाली नदिमा दाहसंस्कार गरिएको छ ।
आर्यघाटमा स्व.निर्मलाका बुवा यज्ञराज पन्तको लासमा दागबत्ती दिएका थिए। उनले आफ्नी छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई कडा सजायको माग समेत गरेका छन् ।
आइतबार राति जिल्ला प्रहरी कार्यालयमा मृतकका परिवार र आफन्तले गरेको सहमतिअनुसार उनको हत्या भएको पाँचदिनपछि सोमबार दाहसंस्कार गरिएको हो ।
दाहसंस्कारमा हत्या गरिएकी निर्मला पन्तका परिवार, आफन्त सहित प्रदेश सभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगरपालिकाका वडा अध्यक्षहरू र अन्य जनप्रतिनिधि, पत्रकारहरु सहभागी थिए।
भीमदत्त नगरपालिका वडा नम्बर २ महुलिया, उल्टाखाम घर भएकी १३ वर्षिया निर्मला पन्तको गत बिहीवार हत्या भएको हो। बिहीबार दिउसो साथीको घरमा अध्ययन गरेर फर्किएकी निर्मलाको अखुबारीमा शव फेला परेको थियो ।