साउन १४, काठमाण्डौ । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले प्रमाण बिना प्रस्तावित न्यायाधीश दिपकराज जोशीमाथि आरोप लगाइएको बताएका छन् ।
केसीले जोशीको शैक्षिक प्रमाणपत्रमाथि संसदीय सुनुवाई समितिले प्रश्न उठाएकोप्रति आपत्ति जनाउँदै कसैको उजुरीबिना समितिले प्रश्न उठाउन नमिल्ने दाबी गरे ।
तर नेकपाका सासंद कृष्णभक्त पोखरेलले भने संवैधानिक व्यवस्था बमोजिन समितिले काम गरिरहेको जिरिक गरे ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै केसीले जोशीको बचाउ गरे भने पोखरेलले आरोपको पुष्टी गर्ने प्रयास गरेका हुन् ।
७१ सालमा नै जोशीलाई संसदीय समितिले स्विकृत गरिसकेको स्मरण गराउँदै केसीले अहिले सुनुवाई गर्न आवश्यक नरहेको बताए ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक प्रमाणपत्रबारे संवैधानिक परिषदले छानबिन गर्न सक्ने तर समितिले उजुरी नै नपरेको विषयमा प्रश्न उठाउन नमिल्ने केसीको जिकिर छ ।
यता पोखरेलले भने जोशीका बारेमा अध्ययन अनुसन्धान भइरहेकाले सबै कुरा अहिले भन्न नसकिने बताए । पूर्वाग्रह नराखीकन समितिले अध्ययन गर्न पाउने व्यवस्था संविधानमा नै रहेको पोखरेलले दाबी गरे ।