Logo

एसियाडका लागि नेपाल गल्फ टोली थाइल्याण्ड प्रस्तान



काठमाडौँ, १५ साउन इण्डोनेसियामा आयोजना हुने १८ औँ एसियाली खेलकूद एसियाड को थप तयारीका लागि नेपाल गल्फ टोली थाइल्याण्ड प्रस्थान गरिसकेको छ।

आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारीका लागि गल्फ संघका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपाली गल्फ टोलीले एसियाडमा पुरुषतर्फ टिम इभेन्टस र एकलमा प्रतिस्पर्धा गर्ने जानकारी गराएका छन ।

नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय निकै मेहनत गरको भन्दै सफलताको शुभकामना दिएका छन । थाइल्याण्ड प्रस्थान गर्ने खेलाडीमा टंकबहादुर कार्की, शुक्रबहादुर राई, पृथ्वी मल्ल र अजित विक छन् ।

नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

प्रथम विश्वविद्यालय उसु च्याम्पियनसिपमा नेपालकोतर्फबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

मकाउ पोलिटेक्निक इन्ष्टिच्यूट मल्टी स्पोर्ट्स पेभिलियनमा यही साउन १७ देखि २० गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालकोतर्फबाट एक पुरुष र दुई महिला प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रवेश गर्न लागेका अशोक बुढा मगरले पुरुष नान् छ्वान र नान् गुनमा भाग लिने छन् ।

त्यस्तै महिलामा १२ औँ दक्षिण एसियाली खेलकूद सागकी रजतधारी सविता राई र ओसिन राईले आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । ओसिन र सविता आआफ्नो स्पर्धामा लगातार पाँच पटकका राष्ट्रिय च्याम्पियन हुन् । प्रतियोगितामा सहभागी उक्त तीन खेलाडीसहित सात सदस्यीय नेपाली टोली आज मंगलबार मकाउ प्रस्थान गर्नेछन् ।

विश्वविद्यालय खेलकूद संघ नेपालका अध्यक्ष प्रदीप जोशीको नेतृत्वमा जान लागेको टोलीको प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखापाल कुमार बस्नेत र विश्वविद्यालय खेलकूद संघका सदस्य महेन्द्र तामाङ छन् ।

अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकूद महासंघ र मकाउ विश्वविद्यालय खेलकूद संघको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने विश्वविद्यालय खेलकूद संघका महासचिव पूर्णसिं बोहराले जानकारी गराएका छन ।

टोलीलाई राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख वासुदेव आचार्य र कानून शाखाका प्रमुख नारायणराज अर्यालले एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्