Logo

कसरी तयार भयो नयाँ कानुन ? यस्तो छ रहस्य



भदौ १, काठमाण्डौ । मुलुकी ऐनलाई प्रतिस्पथापन गर्दै शुक्रबारदेखि नयाँ कानुन लागू हुँदैछ । २०२० सालदेखि चल्तीमा रहेको मुलुकी ऐन ५५ वर्षपछि प्रतिस्थापन हुन लागेको हो । ‘मुलुकी देवानी संहिता, अपराध संहिता’ र ‘कार्यविधि’ कार्यान्वयनमा आएसँगै मुलुकी ऐन प्रतिस्थापन हुनेछ ।

१९१० सालमा जंगबहादुर राणाले बनाएको मुलुकी ऐन २०२० सालमा सुधार गरी कार्यान्वयनमा ल्याइएको थियो। जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको मुलुकी ऐन परिवर्तन गरी नयाँ संहिता बनाइएको छ ।

नयाँ कानुनमा पीडितलाई पीडकले क्षतिपूर्ति भराउनेसहितको व्यवस्था छ । साबिकमा व्यावहारिक कठिनाइ भइरहेका कानुनलाई समेत कानुन बनाएर समेटिएको छ । मुलुकी ऐनले समेट्न नसकेका व्यावहारिक विषयलाई परिभाषित गर्दै संहितामा उल्लेख गरिएको छ ।

मुलुकी देवानीसंहिता ऐन, मुलुकी देवानी कार्य्विधिसंहिता ऐन, मुलुकी अपराधसंहिता ऐन, मुलुकी फौजदारी कार्यविधिसंहिता ऐन, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन गरी पाँचवटा ऐनबाट पुरानो मुलुकी ऐनलाई पूर्ण रूपमा प्रतिस्थापन गरिएको हो । पहिलो संविधानसभाकै वेला तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ संयोजकत्वको कार्यदलले फौजदारीसम्बन्धी विधेयक तयार पारेको थियो ।

त्यस्तै, देवानीसम्बन्धी विषयमा तत्कालीन न्यायाधीश खिलराज रेग्मी संयोजकत्वको कार्यदलले विधेयक तयार पारेर संविधानसभामा पेस गरेको थियो ।

अघिल्लो संसदले नै सो कानून बनाएको भएपनि जनताका दैनिकीसँग प्रत्यक्ष जोडिने विषय भएकाले कार्यान्वयनका लागि झन्डै एक वर्षको समय छुट्टयाइएको थियो । लामो बहस र छलफलपछि बनाइएको सो कानूनमा पारिवारिक, आर्थिक, सामाजिक, मुलुकको शान्ति सुरक्षासँग जोडिएका विषयलाई स्पष्ट पारिएको छ ।

नयाँ कानूनमा धर्म परिवर्तन, दाइजो प्रथा, बहुविवाह, बलात्कार, जथाभावी घर निर्माण लगायत विषयलाई कसुर ठहर गर्दै कारबाही हुने व्यवस्था छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ संयोजकत्वको कार्यदलले फौजदारी कार्यविधि सम्बन्धी कानूनको मस्यौदा र खिलराज रेग्मी नेतृत्वको कार्यदलले मुलुकी देवानी संहिता सम्बन्धी मस्यौदा दुई वर्ष लगाई तयार बनाएर सरकारलाई बुझाएको थियो । सोही मस्यौदालाई अन्तिम रुप दिइ सरकारले व्यवस्थापिका संसदमा पेस गरेपछि लामो छलफल गरेर कार्यान्वयनमा ल्याईएको हो ।

सम्बन्धित समाचार :



प्रतिक्रिया दिनुहोस्