Logo

सेमिफाइलमा नेपाल पराजित



काठमाडौँ, १ भदौ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ ।

भर्खरै थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो ।भारतका लागि लेन्डा कोमले ३०औँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता लिए पनि ३७औँ मिनेटमा नेपालकी रजनी थोकरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन् ।

पहिलो हाफ बराबरीमा सकिए पनि ७५औँ मिनेटमा क्रिटिना देवीले गोल गरेपछि भारत खेलमा २–१ ले अघि बढ्यो । त्यसपछि थप गोल हुन नसक्दा नेपाल भारतसँग २–१ ले पराजित हुन पुग्यो । जितसँगै भारत फाइलन प्रवेश गरेको छ । भारतले फाइललमा बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ ।

अब नेपालले तेस्रो स्थानका लागि बङ्गलादेश र भुटानबीचको पराजित हुने टोलीसँग भदौ २ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार भएको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–० ले पराजित भएको थियो ।

प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।

मुख्य प्रशिक्षकमा गङ्गा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।रासस



प्रतिक्रिया दिनुहोस्