काठमाडौं, १ भदौ ।नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मुलुकी ऐनको धारा २३१ लाई संशोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कुनै बिरामीको ज्यान गएको खण्डमा ज्यान मारेसरह मानिने छ भनेर लेखिएको छ, चिकित्सा शिक्षा पढ्दाखेरि हामीले कसम खाएका हुन्छौं, कुनैपनि बिरामी आमाबासरह हुन भनेर हामीलाई कुनै छलकपट र लापरबाही गर्नुछैन्, तर कुनै यस्ता बिरामी हुन्छन्, शल्यक्रिया गर्दापनि विरामी नबाँचे ज्यान मारेसरह मानिने छ भनेर लेखिएको छ, हामी त्यसको बिरोधमा छौं ।’
श्रेष्ठले थपे,‘टाउकोको शल्यक्रिया गर्दा अपवादमा कसैको हात कसैको खुट्टा नचल्न सक्छ, त्यस्तो स्थितिको बारेमा शल्यक्रिया गर्ने डाक्टरले सिधै जेल जानुपर्ने स्थिति छ, ५० प्रतिशत बिरामी निको हुने अवस्था छ भनेपनि यही कानूनको डरले डाक्टरले शल्यक्रिया नगर्न सक्छ्, त्योबेला के गर्ने ? उपचार गर्दागर्दै ज्यान गएपनि जेल जानुपर्ने ? कुनै अस्पतालमा उपचार कठिन होला, रिफर गर्न नपाईने ? कुनैबेला राजनीतिक दलहरुले हामीजस्ता कर्मचारीलाई सडकमा मान्छे भएन भनेर बोलाउनुहुन्थ्यो, तर आज हाम्रै अधिकारलाई वास्ता गर्नुभएन ।’
आज भदौ १ गतेदेखि मुलुकी ऐनका धारा २३० र २३१ मा उल्लेखित व्यवस्थाका बिरुद्धमा आफूहरुले आन्दोलन गर्ने कार्यक्रम रहेको भएपनि कानून मन्त्रालयले सुझाव मागेको कारण आन्दोलन स्थगित गरिएको उनको स्पष्टोक्ति थियो ।
उनले भने,‘भदौ १५ गतेभित्र समस्या समाधान भएन भने हामी आन्दोलनमा होमिन्छौं, नभए हामी लाईसेन्स सरकारलाई बुझाएर सामान्य नागरिक भएर बस्छौं ।’
क्लबका सभापति ऋषि धमलाले आजदेखि लागु भएको मुलुकी ऐन लुकी अपराध (संहिता) ऐन, २०७४ बारे जनतामा व्यापक छलफल गरेको भए अझ धेरै राम्रो हुने थियो भन्ने धारणा राखेका थिए । उनले नयाँ कानूनमा प्रेसप्रतिको दृष्टिकोण के हो भन्ने कुरा स्पष्ट आउनुपर्ने पनि बताए ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो ।