भदौ १, काठमाण्डौ । ऊर्जामन्त्रालयले देशभरिका ५६ लाख घरधुरीले नै जलविद्युत आयोजनामा सेयर पाउने वातावरण सुनिश्चित गर्ने योजना अघि सारेको छ । आयोजनाहरुको निर्माणमा सबै घरधुरीको सेयर लगानी गराउने गरी सरकारले काम गर्न लागेको हो । प्राधिकरणले आर्थिक अवस्थामा सुधार ल्याए पनि सञ्चित घाटा कम भएको छैन ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जनभावना अनुसार चल्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । विद्युत प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावना अनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराएका हुन् । उनले जनताको सेवक हुँ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी पनि दिएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीहरुले जनताको आवाज नसुनेको गुनासो आएको दाबी गरे । जनताको गुनासोलाई वेवास्ता गर्ने कर्मचारीलाई पदबाट हटाउन सकिने पुनले चेतावनी दिए । उनले राम्रो काम गर्ने कर्मचारीलाई जनताले पनि सम्मान गर्ने गरेको पनि स्मरण गराए ।
मन्त्री पुनले प्राधिकरणको नियमनका लागि विद्युत नियमन आयोग गठन गर्ने घोषणा पनि गरेका छन् । उनले आयोग गठन गर्नका लागि सरकारले त्यसको ऐन र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको जानकारी दिए ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव एवम् प्राधिकरणका अध्यक्ष अनुपकुमार उपाध्यायले नागरिकलाई गुणस्तरीय सेवा वृद्धिमा ध्यान दिन प्राधिकरणलाई सचेत गराए । उनले जनताको चाहेकै ठाउँमा विद्युत उपलब्ध गराउनका लागि आवश्यक योजना बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिएका छन् ।
कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको बार्षिक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौति रहेको बताए । उनले विद्युतको नियमित आपूर्ति र चुहावट नियन्त्रण नै एक वर्षको मुख्य अभियान भएको पनि जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणले पछिल्ला वर्ष आर्थिक अवस्थामा सुधार ल्याए पनि सञ्चित घाटा कम भएको छैन । अझै प्राधिकरणको यस्तो घाटा करिब ३२ अर्ब रुपैयाँ छ । उक्त घाटा रकम ५ आर्थिक वर्षको हो । पछिल्ला २ वर्षमा भने प्राधिकरणको वित्तीय अवस्था सुधारिको छ । अघिल्ला आर्थिक वर्षको तुलनामा पछिल्ला वर्ष विद्युत उत्पादन तथा भारतबाट आयातित परिमाणमा वृद्धि, निरन्तर वर्षाले विद्युतृकेन्द्र पूर्ण क्षमतामा सञ्चालन र प्रणाली सुधारले वित्तीय अवस्था सकारात्मक देखिएको छ । यद्यपि, अर्बौं रुपैयाँको सञ्चित घाटा यथावत नै छ ।