काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ का संसदमा सम्बोधन गरेलगत्तै राजपा नेपालका सांसदहरुले सम्बोधन बहिष्कार गरेका छन् ।
राजपा नेपालका प्रदेश सांसद मनिष सुमनले आफूहरुले प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार गरेको जानकारी रिपोर्टर्स नेपाल डटकमलाई दिए ।
प्रधानमन्त्री ओलीको सम्बोधन चल्दै गर्दा राजपा नेपालका सांसदहरुले भने विरोध गरेका छन् । सांसद रेशम चौधरीलाई थुनामा राखेको, संविधान संशोधन नगरेको, ओली मधेस मैत्री नभएको लगायत आरोप लगाउँदै राजपाका सांसदहरुले विरोध गरेका हुन् ।
विरोधका बीच सभामुखले ओलीलाई सम्बोधन गर्न दिएपछि राजपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् । यसअघि ओली जनकपुर विमानस्थलमा पुग्दा राजपाका मन्त्री जितेन्द्र सोनलबाहेक अरु मन्त्री अनुपस्थित थिए ।