Logo

एशियाली खेलकूदको उदधाटन इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्ने



काठमाडौँ, २ भदौ ।एशियाली खेलकूदको महाकुम्भ आजदेखि सुरुहुन गैरहेको छ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ ।

उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुनेछन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो ।नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जाकार्ता र बाँकी छ खेल पालेम्वाङमा हुनेछ ।

इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ । त्यस्तै थाइल्यान्डले ८१६, दक्षिण कोरियाले ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन् ।

एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी हुँदैछन् । जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल थ्री अन थ्री, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउन गैरहेको छ ।

दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ ।रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने मानिएको उद्घाटन समारोहामा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिन गैरहेका छन ।



प्रतिक्रिया दिनुहोस्