काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेतृत्व गरेको आज ६ महिना पुगेको छ । यो ६ महिनाको अवधिमा सरकारले के के उपलब्धि हाँसिल गर्यो त ? यो आजको चासोको विषय बनेको छ ।
ओलीले जनतासामू मुलुकको विकासको लागि ठूलो सपना बाँडेका छन् । तर, यो सरकारको सुरुवाती अवस्था हेर्दा काम गराईको गति र तारतम्य भने त्यति मिलिहालेको देखिँदैन् । सरकार अहिले गति लिनुको साटो झिनामसिना विषयमा अल्झिएको छ ।
ईतिहाँसकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले यसपटक ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई अघि सारेका छन् । सरकार गठन भएको दिनदेखि आजसम्म आईपुग्दा ओली अलमलमा परेको देखिन्छन् । उनले अपेक्षित गति प्रदान गरेर काम गर्न नसकेको हो कि भन्ने तहसम्मको बहस अहिले छेडिएको छ ।
ओलीले सुरुवातदेखि नै आफूले भ्रष्टाचार नगर्ने र गर्नेलाई पनि उन्मुक्ति नदिने वचनबद्धता जनतासामू गरिसकेका छन् । उनले प्रायः सबै सार्वजनिक भाषणमा आफू सुशासनको पक्षपाती भएकोले मुलुकमा अब सबै किसिमका बेथिति र अनियमितताको अन्त्य गर्ने पनि प्रतिबद्धता जनाएका छन् । तर, व्यवहारमा त्यस्तो देखिएको छैन । मुलुकमा अझैपनि बेथितिहरु हावी भैरहेका छन् । सुशासन, शान्ति सुरक्षा र अमनचयन जनताले महशुस गर्न सकेका छैनन् ।
पछिल्लो समय बलात्कारलगायत महिला हिंसाका घट्नाहरु दिनहुँ घटिरहेका छन् । यस्ता घट्नाहरु निरुत्साहित तुल्याउन सरकारले कडा कदम चाल्नुपर्ने माँग गर्दै सडकमा महिलाहरुले संघर्षका कार्यक्रमहरु गरिरहेका छन् । संसदमा पनि सांसदहरुले यी घट्नाको बारेमा सरकारको ध्यान आकृष्ट पारेका छन् ।
यतातिर पनि सरकारले विशेष ध्यान पुर्याउनुपर्ने देखिएको छ । सामाजिक सुव्यवस्थालाई मजबुद बनाउनुपर्छ । अहिले मुलुकमा तीन तहको सरकार छ । दुई दशकपछि मुलुकले स्थानीय निकायमा जनप्रतिनिधि पाएको छ । तर, जनतामा आशा र उत्साह जगाउनेगरि स्थानीय निकायले काम गर्न नसकेको हो कि भन्ने जनतामा अझै गुनासाहरु छन् । केन्द्र सरकारले स्थानीय सरकारलाई त्यति ध्यान नपुर्याएको हो कि भन्ने पनि गुनासाहरु भैरहेका छन् ।
ओलीले विकास र समृद्धिको जग हाल्नेगरि सरकारले काम गरिरहेको बताउँदै आएका छन् । तर, यसको लागि ओलीले केही पहलकदमी भने पक्कै गरेका छन् । नीजि क्षेत्रसँग उनले राम्रैसँग सहकार्य अघि बढाउने संकेत देखाएका छन् । ओलीले भारत र चीनको भ्रमण गर्दापनि यो संकेत देखाएका छन् । मुलुकको विकासमा नीजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उनको योजना छ । र, उनले यसको लागि काम गरिरहेको देखिन्छ ।
ओलीले आफ्ना सम्बोधनहरुमा विकास, समृद्धि, रेल, पानी जहाज र सुशासन भन्न छुटाउदैनन्। तर सरकारले गरेका निर्णय र कामले प्रधानमन्त्रीका यी भनाईलाई पुरा गर्नेगरि काम गरेको कार्यक्रम बनेको देखिदैन। ओली नेतृत्वको सरकारसँग केन्द्रमा दुई तिहाई बहुमत । सातै प्रदेशमा सत्तारुढ दलकै सरकार छन् ।
भारत र चीन भ्रमण : द्धिपक्षीय सम्बन्ध सुधार
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन जितेका ओलीले भारतसँगको आफ्नो सम्बन्धपनि सुधार गरे । नाकाबन्दीको बेला चिसिएको भारतसँगको सम्बन्ध ओली प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सुमधुर बनाउन सफल भए । मोदीले पनि ओलीलाई भारतमा न्यानो आतिथ्यता प्रदान गरे ।
लगत्तै मोदी नेपाल आए । मोदीलाई पनि नेपालमा ओलीले न्यानो आतिथ्यता दिईएको थियो । मोदीले जनकपुरबाट आफ्नो भ्रमणको सुरुवात गरेका थिए । त्यसलगत्तै उनी मुक्तिनाथको पनि यात्रामा निस्किए । काठमाडौं बस्दा मोदीले पशुपतिनाथको पनि दर्शन गरे । जनकपुर र काठमाडौं महानगरपालिकाले मोदीलाई छुट्टाछुट्टै नागरिक अभिनन्दन गरेको थियो ।
मोदीको ‘सबका साथ, सबका विकास’ र ओलीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा एउटै हो भनेर मोदीले सार्वजनिक रुपमै घोषणा गरेका थिए । मोदी–ओलीबीचको सम्बन्ध सुमधुरमात्रै भएन । भारतले नेपालको विकास र समृद्धिमा ठूलो सहयोग गर्ने प्रतिबद्धतता जनाएको छ ।
भारतलगत्तै ओलीले चीनको भ्रमण गरे । चीनसँगपनि ओलीले अत्यन्तै सुमधुर सम्बन्ध बनाए । भारत र चीन दुवै मित्रराष्ट्रसँग ओलीले सुमधुर सम्बन्ध बनाएको दाबी गरेका छन् । ओलीले आफ्नो यो कार्यकालको सुरुवाती चरणमा दुवै छिमेकी मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन प्रयत्न गरेका छन् । भारत र चीनको भ्रमणमा ओलीले विकास र साझेदारीमा महत्वपूर्ण समझदारी गरेका छन् । ती समझदारीहरु कार्यान्वयन भए नेपालको समृद्धिमो ठूलो योगदान पुग्ने विश्वास यो सरकारको छ ।
प्रधानमन्त्रीको कार्यभार सम्हालेको ६ महिना पुगेको अवसरमा ओलीले आज पाँच भाषामा प्रतिक्रिया दिँदै देशको प्राथमिकता र पारस्पारिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको दाबी गरेका छन् । ओलीले आफ्नो ट्वीटर ह्याण्डलार्फत क्रमशः नेपाली, भोजपुरी, मैथली र नेवारी भाषामा प्रतिक्रिया दिएर यस्तो बताएका हुन् ।
उनले नेतृत्वको सरकारले सुशासन र विकासको आधारशीला तयार पारेको पनि बताएका छन् । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दाबी गरेका छन् ।
यातायात लगायत विभिन्न क्षेत्रको सिण्डिकेट तोडिएको भनेर सरकारले दाबी गरेको छ । तर, अझैपनि सिण्डिकेट कायमै रहेको जनताको गुनासो छ । बोलीमामात्रै सिण्डिकेट तोडिएको तर व्यवहारमा अझैपनि सिण्डिकेट कायमै रहेको जनताको गुनासो छ । महँगी बढेकोबढै छ । तर, मुल्य वृद्धि र महँगी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न जरुरी छ । यतातिर पनि सरकारले यो ६ महिनामा कुनै ठोस कदम चाल्न नसकेको गुनासो छ ।