Logo

सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ : विश्वप्रकाश शर्मा



-विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार प्रभावकारी हुन नसकेको बताए । सरकारको काम र कांग्रेसको आन्तरिक कमजोरीका बारेमा ऋषि धमलाले प्रवक्ता शर्मासँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

शेरबहादुर देउवाले सरकार छाडेपछि संघीयताको सवालमा भयो चाँही के त ?

केपी ओली नेतृत्वको सरकार जस्ट पास मात्रै भएको भन्नुभएछ । यसको आधार के छ ?
हामीले सात सय पूर्णाङ्क बनाएर हिसाब गर्दा मूलभूत विषयवस्तुमा पास मात्रै हुने अंक दिन सकिन्छ । राम्रो र उत्कृष्ट अंक पाउनेगरी काम गरेको पाइएन । ६ महिनामा राष्ट्रियतादेखि न्यायालयसम्मको विषयमा सरकार पूर्ण सफल भएको छैन ।

नेपाली कांग्रेसले मूल्याङ्कन गरेको ७ वटा विषयहरु केके हुन् ?
सातवटा फरक फरक विषयहरु राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धियात्रा र न्यायालय हुन् । यि सातवटा विषयहरुमध्ये कुनै पनि विषयमा सरकारले राम्रो अंक ल्याएको देखिदैन ।

राष्ट्रियताको सवालमा त सरकार सफल भएको मानिन्छ नि, होइन र ?
कुनै एउटा कोणबाट मात्रै विश्लेषण गर्दा कसैले सफल भयो भन्न सक्ला । तर हाम्रो बुझाई के रह्यो भन्दा चुनावअघि राष्ट्रवादको मसिहा नै जस्तो देखिनुभयो । उग्र राष्ट्रवादको लहरै ल्याउनुभयो । तर सरकार गठन भएको केही महिना पुग्दा नपुग्दै राष्ट्रवादको रङ खुइलिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले जे रवैया र शैली देखाउनुभयो, त्यसले राष्ट्रियताको सवालमा सरकार गम्भीर ढंगले चुकेको देखिन्छ ।

छिमेकी देशहरु भारत र चीनसँग राम्रो सम्बन्ध बनाउनु राम्रो होइन र ?
सम्बन्ध राम्रो बनाउने कुरालाई सम्मान र स्वागत गर्नुपर्छ । तर सम्बन्ध सुधारका नाममा शीर झुकाउने काम गर्नु हुँदैन ।

सरकारले विकास र समृद्धिको नारा लिएर काम गर्न खोजिरहेको छ । तर तपाईहरु किन विरोध मात्रै गर्नुहुन्छ ?
समृद्धिको कुरामा त कांग्रेसले विरोध गरेकै छैन नि । दुई तिहाई बहुमतप्राप्त सरकारले नविन ढंगले विकास र समृद्धिको काम गर्ने हो भने कसैले पनि विरोध गर्दैन । हाम्रो आग्रह पनि प्रधानमन्त्री केपी ओलीको नतृत्वमा देश समृद्धिको बाटोमा जाओस् भन्ने नै हो ।

अहिलेको सरकारले विकासको काम गर्न सकेन भन्ने कांग्रेसको निष्कर्ष हो ?
सरकारले आफूले राम्रो काम गरेको छु भनेर दाबी गर्नु स्वभाविक हो । तर हामीले सरकारका बारेमा गरेको विश्लेषण गलत छैन । सरकारले ६ महिनामा एक लाखभन्दा बढि पशुलाई कृत्रिम गर्भाधान गराएकोसमेत उल्लेख गरेको छ । यो भनेको त जुनसुकै सरकार हुँदा पनि भइरहने काम हो नि । यो सरकार गठन भएपछि भएको नयाँ काम चाँही के त ? दुई तिहाई बहुमतको सरकार नभएको भए वा केपी ओली प्रधानमन्त्री नभएर अरु कोही भएको भए यो काम हुँदैनथ्यो होला र ? त्यसैले यस्ता कामलाई आफूले नै गरेको भनेर प्रचार गर्ने हो भने त कामको विवरण त जति पनि हुन सक्छ नि ।

संघीयता कार्यान्वयनमा त सरकार सफल भएको छ नि, होइन र ?
सातवटा प्रदेशमध्ये २ वटाको मात्रै नामाकरण भएको छ । प्रदेशका मुख्यमन्त्रीहरु नियम कानुन नभएकाले काम गर्न पाइएन भनिरहेका छन् । हामीले आसन पायौँ तर शासन पाएनौँ भनेर गुनासो गरिरहेका छन् । बजेट पाइएन भनिरहेका छन् । अनि संघीयता सफल बनाउन सरकारले के गर्यो त ? शेरबहादुर देउवाले सरकार छाडेपछि संघीयताको सवालमा भयो चाँही के त ? सरकार त संघीयता चाहिँदैन भन्ने दिशातर्फ अग्रसर भएको देखिन्छ । संघीयता असफल बनाउने अभियानमा सरकार लागेको देखिन्छ ।

नेपाली कांग्रेसका विभिन्न विभागहरु किन गठन हुन सकेनन् ?
यो विषयमा कांग्रेसभित्र आन्तरिक रुपमा छलफल गर्नुपर्ने छ । कांग्रेसभित्र जेजे काममा ढिलाई भएको छ, त्यो सबै जतिसक्दो छिटो गर्नुपर्ने कुरामा दुईमत छैन । कमजोरीलाई सुधार गर्नका लागि सभापतिदेखि जिम्मेवार नेताहरु गम्भीर बन्नुपर्छ ।

संघीयताअनुसार कांग्रेसको संरचना निर्माण कहिले हुन्छ ?
अब हामी महाधिवेशनअघि नै प्रदेश अधिवेशन गछौँ । प्रदेशभन्दा अघि जिल्ला, गाउँ, नगर सबै निकायको अधिवेशन गरेर जान्छौँ ।

महासमितिको बैठक कहिले बस्छ ?
पूर्व निर्धारित कार्यक्रमअनुसार भदौमा बस्नुपर्ने हो । तर विधान मस्यौदा समिति बनाउँदा भएको ढिलाईको कारणले केही समय धकेलिन सक्छ । मिति नै भन्न सकिने अवस्था चाँही छैन ।



प्रतिक्रिया दिनुहोस्