काठमाडौँ, ५ भदौ । स्पेनिस ला लिगामा बार्सिलोनामाथि दाबाब पारेको र लिग उपविजेता बनेको एथ्लेटिको मड्रिडको यो सिजनको सुरुवात त्यति राम्रो हुन सकेको छैन ।लिग अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा एथ्लेटिको मड्रिड भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको छ ।
२६ औँ मिनेटमा एन्जल कोरियाको गोलबाट एथ्लेटिको एक कदम अगाडी बढेकोे थियो । डिएगो कोस्टाले प्रहार गरेको बललाई भ्यालेन्सियाका गोलरक्षक बचाउ गर्न सफल रहेका थिए ।
५६ औँ मिनेटमा भ्यालेन्सियाका लागि रोड्रिगोले बराबरी गोल फर्काए । एथ्लेटिकोका डिएगो गोडिनको कमजोरीको फाइदा उठाउँदै रोड्रिगोले गोल गरेका हुन् । अवे मैदानमा भएको खेलमा सुरुमा अग्रता लिएर पनि एथ्लेटिकोले जित निकाल्न नसकेको जनाईएको छ ।
अर्को खेलमा एथ्लेटिको बिल्बाओले लेगानेसलाई २–१ ले हराउँदै लिगमा विजयी सुरुवात गरेको छ । एजेन्सी