काठमाडौं ६ भदौ । सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल बढाउन पार्टीको महासमिति बैठक पछि धकेल्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित भएको छ ।
गत वैशाखमै केन्द्रीय कार्यसमिति बैठकले यही भदौमा महासमिति बैठक गर्ने निर्णय लिएको थियो।
भदौमा महासमिति बैठक हुन नसके देउवा असफल बन्ने भन्दै पौडेल पक्षले उनीमाथि नैतिक प्रश्न तेस्र्याएको छ। ‘महासमिति पर धकलेर नियमित महाधिवेशन नगर्ने षड्यन्त्र हुँदै छ,’ पौडेलले सोमबार कान्तिपुरसँग भने, ‘आफ्नो स्वार्थका लागि पार्टीलाई जोखिममा पार्ने काम हुन दिनु हुन्न।’ अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि भदौमा महासमिति बैठक हुन नसके देउवा असफल हुने बताए। आफ्नो अनुकूल परिस्थितिको पर्खाइमा महासमिति सार्दै जाँदा देउवाले झनै प्रतिकूल वातावरण भोग्नुपर्ने उनको चेतावनी छ।
देउवाले महासमिति पछि धकेल्दा डेढ वर्षपछि गर्नुपर्ने नियमित १४ औं महाधिवेशनसमेत प्रभावित हुने पौडेलले बताए। विधानमा असाधारण परिस्थिति परे त्यसको कारण खोली एक वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था छ। देउवा विधानको त्यही व्यवस्थामा टेकेर कार्यकाल लम्ब्याउने योजनामा लागेको बुझाइ पौडेल पक्षको छ।
उपसभापति विमलेन्द्र निधि भने त्यसलाई ठाडै अस्वीकार गर्छन्। ‘देउवाजीबाट महाधिवेशन लम्ब्याउने षड्यन्त्र भएको छैन, बरु पौडेलजीबाटै भएको छ,’ उनले भने, ‘सभापतिले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न नपाउँदा समस्या आएको हो।’ निधिका अनुसार पार्टीको विधान संशोधनका लागि समिति गठनमा पौडेलकै कारण ढिलाइ भएको हो। समितिले फास्ट ट्रयाकमा काम सके भदौभित्रै महासमिति बैठक हुन सक्ने उनले बताए।
‘मैले कैयौंपटक पौडेलजीको घरमा गएर समिति गठनका लागि सदस्यको नाम दिन आग्रह गरें तर उहाँले महिनौंसम्म दिनुभएन,’ उनले भने, ‘विधानबमोजिम काम गर्न नदिएपछि षड्यन्त्र भयो भन्नु गलत हो।’
महासमितिमा प्रस्तुत हुने प्रमुख एजेन्डा नै विधान संशोधन हो। महासमिति बैठकको दुई तिहाइले मात्रै विधानमा संशोधन र परिमार्जन गर्न सक्छ। प्रवक्ता विश्वप्रकाश शर्माले भदौमा सम्भव नभए पनि दसैंअघि महासमिति बैठक हुनेमा निश्चिन्त रहन आग्रह गरे।
पौडेल पक्षले विधान मस्यौदा समितिमा आफ्नो पक्षबाट चार जनाको नाम तीन साताअघि नै दिए पनि देउवाले तत्काल समिति घोषणा गरेनन्। यसलाई महासमिति सार्ने ‘षड्यन्त्र’ का रूपमा पौडेल पक्षले बुझेको छ। ‘तीन साताअघि नै नाम पठाउँदा पनि बहानाबाजी गरिँदै छ,’ पौडेलले भने, ‘महासमिति बैठक सार्दै महाधिवेशन लम्ब्याउने कोसिस भइरहेको छ।’ देउवाले मस्यौदा समिति गठनका लागि शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।
सभापतिप्रति नरम बन्दै आएका महामन्त्री शशांक कोइरालाले पनि महासमिति बैठक सार्न खोजिएको भन्दै असन्तुष्टि जनाइसकेका छन्। यसअघि उनले देउवालाई साथ दिँदै आएका थिए। आइतबार विराटनगरको एक कार्यक्रममा कोइरालाले सभापतिको कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन्। कान्तिपुरबाट