बाँके, ६ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारको कार्य प्रगति सपना बाँड्ने मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।
नेपाल महिला सङ्घ केन्द्रीय कार्य समितिले बुधबार नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् । उनले भने,“पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ ।
उनले वर्तमान सरकार विकासमाभन्दा सपना बाँड्ने काममा बढि केन्द्रित भएको पनि आरोप लगाए । “अत्यधिक मूल्य वृद्वि भइरहेको छ । जनताको ढाड सेक्ने काम कर वृद्धि गरिरहेको छ”, उनले भने, “कर नबढाउन काँग्रेसले जितेका स्थानीय तहमा हामीले निर्देशन गरिसकेका छौँ ।”
काङ्ग्रेसले जितेका स्थानीय तहमा कर वृद्धि नगर्ने पार्टीको आधिकारिक धारणा रहेको उनले स्पष्ट पारे ।