Logo

भोली संवैधानिक परिषदको बैठक : जोशीलाई नै दोहोर्याउने अडानमा देउवा, ओली मिश्रको पक्षमा



भदौ ६, काठमाण्डौ । भोलि दिउँसो चार बजे संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नका लागि प्रधानमन्त्री केपी ओलीले बैठक आह्वान गरेका हुन् ।

यसअघि परिषदले दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । तर संसदीय सुनुवाई विशेष समितिले जोशीलाई अस्वीकृत गरेको थियो । परिषदले सिफारिस गरेको व्यक्तिलाई समितिले अस्वीकृत गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टी व्यक्त गरेको थियो ।

समितिमा सत्तारुढ दल नेकपाका सदस्यहरुको बहुमत थियो । कांग्रेसले असहमति जनाउँदा जनाउँदै पनि बहुमतका आधारमा जोशीलाई अस्वीकृत गरिएको थियो । अन्तिम निर्णय भएको बैठक त कांगेसका सदस्यहरुले बहिस्कार नै गरेका थिए ।

अब भोलि बस्ने परिषदको बैठकमा प्रधानमन्त्री ओलीले कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम प्रस्ताव गर्ने सम्भावना प्रबल छ । तर जोशीलाई अस्वीकृत गर्दा नै आपत्ति जनाएको कांग्रेसले नेकपाको चाहनाअनुसार प्रस्ताव गर्न लागिएका मिश्रलाई स्विकार नगर्ने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले परिषदमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत रहेका छन् । ओलीले प्रस्ताव गर्ने मिश्रलाई देउवाले अस्विकार गर्दै पुनः जोशीलाई नै सिफारिस गर्नुपर्नेमा जोड दिने कांग्रेसका नेताहरुले बताएका छन् ।

यो विषयले सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुने संकेत देखिएको छ । जोशीलाई सिफारिस गर्न ओली नमानेको खण्डमा देउवाले परिषदको बैठक बहिस्कार गर्ने सम्भावना नकार्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्