काठमाडौँ, ७ भदौ / नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको एकीकरणमा योगदान पु¥याएका वीर योद्धाको इतिहासलाई नयाँ पुस्ताले अध्ययन गरी प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
‘टिस्टा–काँगडा–सतलज ऐतिहासिक नेपालको एकीकरणबारे बृहत् कला प्रदर्शनी’को समापन अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वीर योद्धाका बलिदान र देशको ऐतिहासिक एकीकरणका कारण हामी स्वतन्त्र राष्ट्रका स्वाभिमानी नेपाली हुन पाएकामा गौरव गर्नुपर्नेमा जोड दिनुभयो ।
साहित्यकार मोदनाथ प्रश्रितले नेपाल र नेपालीले मेचीदेखि टिस्टा र महाकालीदेखि काँगडा सिमानासम्म करीब १२ वर्ष राज्य गरेको इतिहासलाई स्मरण गर्दै त्यस क्षेत्रमा लडेका वीर योद्धाको आदर्शलाई प्ररेणाका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पृथ्वीनारायण शाहको नेतृत्वमा भएको आधुनिक नेपालको एकीकरणमा वीर योद्धाको योगदान ऐतिहासिक रहेको र उनका उत्तराधिकारीले देशको सिमाना विस्तार गरेको इतिहासलाई बिर्सन नहुने पनि उहाँले बताउनुभयो ।
इतिहासविद् डा सुरेन्द्र केसीले पूर्वजले विशाल नेपाल आर्जन गरेको भए पनि समयक्रममा केही भूभाग गुमाउनु परेको उल्लेख गर्दै योद्धाले लडेका साहासिक युद्ध र ती क्षेत्रका बारे समीक्षा गर्नुपर्ने बताउनुभयो ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले विभिन्न जाति समुदायको बसोबास रहेको मुलुकमा प्राचीन इतिहास, धर्म संस्कृतिको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कलाकार लालकाजी लामाले देशको ऐतिहासिक विषयवस्तुलाई नयाँ पुस्तामा बुझाउन कलाकारले कलामार्फत विभिन्न सिर्जनालाई अभिव्यक्त गरेको जानकारी दिनुभयो ।
हालै चन्द्रागिरिमा गरिएको कला कार्यशालामा विभिन्न ५० कलाकारले सिर्जना गरेका कलाकृतिको यही भदौ २ गतेदेखि बिहीबारसम्म नेपाल कला परिषद्मा प्रदर्शन गरिएको थियो । रासस