काठमाडौं, १० भदौ । राष्ट्रिय जनता पार्टी नेपालभित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन केही नेताहरुले भित्री तयारी थालेका छन् ।
स्रोतका अनुसार सरकारलाई अब पनि समर्थन जारी राख्न नहुने भन्दै पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झाको नेतृत्वमा अन्य नेताहरुले समर्थन फिर्ता लिनको लागि अभियान नै चलाएका छन् ।
राजपाका एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै भने,‘पार्टीभित्र अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ भन्ने आवाज उठ्न थालेको छ । यसको नेतृत्व अध्यक्ष मण्डलका सदस्य अनिल झाले लिनुभएको छ। नेतृत्वलाई पनि समर्थन लिन दबाब सिर्जना भएको छ।’
समर्थन फिर्ता लिनको लागि पार्टीभित्र हस्ताक्षर अभियान सुरु भएको छ । जसमा अध्यक्ष मण्डलका सदस्यद्धय अनिल झा र महेन्द्र राय यादवका साथै नेताहरु मनिष सुमन, जितेन्द्र सोनललगायतका रहेका छन् ।
सरकारलाई निरन्तर समर्थन जारी राखे त्यतिनै राजपाको जनमत दिनप्रतिदिन खस्किने हस्ताक्षर अभियानमा जुटेका नेताहरुको दाबी छ ।