काठमाडौँ । सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सकेका छन ।
केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १० बजेसम्मको अभिलेखअनुसार उनले २८ घण्टा बोली सकेको अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी गराए । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने लक्ष्य राखेका छन ।
अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोले पनि प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण गरेन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख छ ।
विगतको गल्तीबाट सिकेर यस वर्ष नयाँ कीर्तिमानको तयारी थालिएको केसीले बताए। शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानमा लागि तालीमसमेत दिने गरेका केसीलाई यसपटक विश्वले चिन्ने आशा व्यक्त गरिएको छ । रासस