Logo

बिमस्टेकमा को को आउँछन् ? यस्तो छ रिट्रिट र रात्रीभोज



भदौ १२, काठमाण्डौ । नेपालमा पहिलो पटक हुन लागेको बिमस्टेकको चौथौ शिखर सम्मेलनमा सबै राष्ट्रका प्रमुखहरु सहभागि हुने भएका छन् । उनीहरुका साथमा विदेशमन्त्री र विदेश सचिवसमेत आउने छन् ।

बिमस्टेकमा नेपालसहित बंगलादेश, भारत, श्रीलंका, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्ड गरि सात देश सदस्य रहेका छन् । सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, म्यानमारका प्रधानमन्त्री विन मिन्ट, भुटानका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष छिरिङ तोग्वे सहभागी हुने लगभग पक्का भएको छ ।

म्यानमारका प्रधानमन्त्री सम्मेलन सुरु हुने दुई दिनअघि १२ गते नै काठमाडौं आइपुग्ने छन् । श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानमन्त्री १३ गते आउनेछन् । भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री सम्मेलन सुरु हुने दिन १४ गते बिहान काठमाडौं ओर्लनेछन् । उनीहरू सबैले १४ गते दिउँसो शीतल निवासमा राष्ट्रपती विद्यादेवी भण्डारीसँग भेटघाट गर्नेछन् । राष्ट्रपति कार्यालयले उनीहरूको स्वागतका लागि दिवाभोजको आयोजना गर्नेछ ।

दिवा भोज सकिएसँगै होटल सोल्टिमा बिमस्टेक उद्घाटन हुनेछ भने अध्यक्ष राष्ट्र भएको नाताले प्रधानमन्त्री केपी ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । उद्घाटन सत्रमा सबै देशका राष्ट्रप्रमुखहरूले वक्तव्य दिनेछन् । साँझ प्रधानमन्त्री ओलीले होटल हयातमा उनीहरूलाई रात्रिभोज दिने कार्यक्रम छ ।

यस्तै सरकारले भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आउने भारत, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाइल्यान्डका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखलाई गोकर्ण रिसोर्टमा रिट्रिट दिने पनि तयारी गरेको छ ।

होटल सोल्टीमा बिमस्टेक सम्मेलन समापन भएपछि अतिविशिष्ट पाहुनालाई गोकर्ण रिसोेर्टमा रिट्रिट दिइने भएको हो । अधिकांश राष्ट्र प्रमुख त्यसै दिन बिदा हुने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन विदेशमन्त्री र सचिवहरूसमेत आउनेछन् । सम्मेलनको दुई दिनअघि सदस्य राष्ट्रका सचिवहरूबीचमा बैठक हुनेछ । त्यसको भोलिपल्ट १३ गते विदेश मामिला मन्त्रीहरूको बिमस्टेकको १६ औं बैठक हुनेछ । यी दुई बैठकले सम्मेलनमा प्रस्तुत हुने र घोषणापत्र जारी गरिने दस्तावेजलाई अन्तिम रूप दिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्