Logo

फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर



काठमाडौं १४ भदौ ।  बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिएका छन् । तर, भित्री गल्ली र चोकहरूमा भने केही दिनदेखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ । पछिल्लो समय परेको वर्षाका कारण सिसडोलमा फोहोर खन्याउन समस्या भएको छ ।

फोहोर उठाएर गएका ट्रक हिलाम्मे बाटोका कारण सिसडोलमै जाममा परेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढाउँदैछ । अहिले निजी कम्पनीले पनि काठमाडौंमा फोहोर संकलन बन्द गरेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ३५ निजी कम्पनीले घर–घरबाट फोहोर उठाउने गर्छन् ।

बुधबार सिसडोल पुगेका ८० ट्रक हिलोबाटोकै कारण फोहोर खसाल्न नसकेर जाममा परेको सिसडोलस्थित काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए । फोहोरमाथि माटो छापेर बनाएको बाटो पानीले बगाएको र पानी पनि परिरहेकाले नयाँ माटो छाप्न समस्या भएको उनले सुनाए ।

कामपाको ट्रान्सफर स्टेसन भरिसकेको र सिसडोलमा फोहोर खसाल्न सक्ने अवस्था नरहेकाले फोहोर उठ्न छाडेको महानगरका कर्मचारीहरू बताउँछन् । गत असारमा पनि वर्षाको पानीले सिसडोलमा बाटो बिग्रिदा झन्डै एक महिनासम्म फोहोर उठ्न सकेको थिएन । श्रेष्ठका अनुसार पुरानो बाटो बन्न नसकेपछि नयाँ ट्र्याक खोलेर फोहोरमाथि माटो छापेर फोहोर खन्याउने गरिएको थियो ।

दैनिक हजार टनभन्दा बढी फोहोर
दैनिक २५ वटा ट्रकले तीन वर्षसम्म २५० टन फोहोर फाल्न मिल्ने गरी सिसडोल ल्यान्डफिलसाइट बनाइएको थियो । तर १४ वर्षसम्म पनि विकल्प खोजिएको छैन । त्यसैले सिसडोलमा हरेक वर्षामा समस्या हुँदा काठमाडौंमा फोहोर थुप्रिन्छ ।

अहिले दैनिक १५० ट्रकबाट हजार टनभन्दा बढी फोहोर फाल्ने गरिन्छ । काठमाडौं महानगरसहित उपत्यकाका १८ स्थानीय निकाय र बनेपा नगरपालिकाको फोहोरसमेत यहीँ फालिन्छ । सिसलोडमा फोहोरको पहाड नै बनेको छ । फोहोरमाथि नै माटो छापेर फोहोरका ट्रक अगाडि बढ्ने बाटो बनाइएको छ । बर्खामा यही बाटोमा समस्या आउँछ । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्