Logo

हेटौँडामा एकैरात तीन ठाउँमा चोरी



मकवानपुर । हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छ । गए राति हेटौँडा उपमहानगरपालिका – १ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बैंक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो ।

हेटौँडा उपमहानगरपालिका–१ को चाइनाक्वाटरमा रहेको वडा कार्यालयबाट रु ६१ हजार ५० चोरी भएको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा रहेको दराज फोडिएको छ ।

कार्यालयका कागजपत्र भने दुरुस्त रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । कार्यालय चोरी भएको उज्यालो भएपछि थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस्तै राति नै हेटौँडा–१० टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला मात्र फोडिएको र रकम भने चोरी नभएको प्रहरीले पुष्टि गरेको छ । बैंकको तीनवटा सटरमा लगाइएको ताला फोडिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।

सटर फोडिएको पाइएपछि चोरी भएको आशङ्कामा प्रहरीले अनुसन्धान गर्दा नगद भने चोरी नभएको पाइएको मकवापनुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

यसैगरी हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा पनि चोरी भएको छ । गए राति नै भएको चोरीमा नगद तथा रिचार्ज कार्ड चोरी भएको बताइएको छ ।

मनी ट्रान्सफरको सटर फोडेर चोरी भएको प्रहरीले जनाएको छ । मनी ट्रान्सफरबाट भएको चोरीको विवरण भने आई नसकेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्